सुर्खेतमा ३८ औं जुनियर/युवा रेडक्रस गोष्ठी तथा २९ औं शिक्षक नायव गोष्ठी शुरु
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा ३८ औं जिल्ला स्तरीय जुनियर÷युवा रेडक्रस गोष्ठी तथा २९ औं शिक्षक नायव गोष्ठी आज देखि शुरु भएको छ ।
गोष्ठीको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले नेपाल रेडक्रस सोसाईटीले सुर्खेतमा शुरुदेखि नै विपद्, महामारी तथा अन्य जोखिमका समयमा उद्दार राहत तथा पुर्नःस्थापना कार्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको जनाईन् ।
उनले जुनियर तथा युवा रेडक्रस सोसाईटीमा आवद्ध भई हुर्कने विद्यार्थीले भविष्यमा समाज निर्माणका लागि एक कुशल तथा सांस्कारिक नेतृत्व प्रदान गर्न सक्ने बताईन् ।
हरेक रचनात्मक तथा सृजनात्मक कार्यमा नेपाल रेडक्रस सोसाइटीसँग वीरेन्द्रनगर नगरपालिकाले सहकार्य तथा समन्वय गर्दै आएको र आगामी दिनसमेत हातेमालो गरेर अगाडी बढ्ने उनले प्रतिबद्धता जनाईन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य रामलाल आचार्य, रेडक्रस कर्णाली प्रदेशका अध्यक्ष लिलाराम सुवेदी, वीरेन्द्रनगर नगरपालिका शिक्षा प्रमुख धिरेन्द्रप्रसाद शर्मा, चन्द्रगंगा मावि गाग्रेतालका प्रधानाध्यापक नेत्रप्रसाद चालिसे, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका जुनियर युवा विभागका उपनिर्देशक लिला खनालले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।
जुनियर युवा रेडक्रसका जिल्ला संयोजक चेतनकुमार सुवेदीले दुई दिनसम्म चल्ने गोष्ठीमा ट्राफिक नियम पालना, लागूऔषध सम्बन्धी, मनोसामाजिक सहयोग, विपद् व्यवस्थापन, आँखा स्वास्थ्य, साईवर शिक्षा, विद्यालय जोखिम व्यवस्थापन, रेडक्रस अभियान, अन्तर्राष्ट्रिय युद्ध सम्बन्धि कानूनलगायतका बारेमा जानकारी गराईने बताए ।
गोष्ठीमा जिल्लाभरीका ९१ विद्यालयका ९१ शिक्षक नायक र ३ सय जना जुनियर÷युवाहरुसँगै ५० जना स्वयमसेवक र रेडक्रस उपशाखाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।