स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षामा जोड

सुर्खेत । स्वास्थ्य क्षेत्रका सरोकारवालाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाप्रति सरकारलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।

नेपाल चिकित्सक संघले सुर्खेतको विहीबार वीरेन्द्रनगरमा आयोजना गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि प्रचारप्रसार तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले मानव स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थामा सुरक्षित रुपले काम गर्ने वातावरण सृजना गरि दिन सरकार तथा सरोकारवालासँग आग्रह गरेका हुन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर अनिलविक्रम कार्कीले चिकित्सकहरुले आफ्नो कार्यक्षेत्रमा निर्धक्क भएर काम गर्ने वातावरण नबनेसम्म स्वास्थ्य क्षेत्रले फड्को मार्न नसक्ने बताए । उनले न्यून सेवा सुविधाका वावजुद समाज तथा राष्ट्रका लागि सेवाभावले ओतप्रोत भएर मानव स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्नेमा जोड दिए ।

‘औद्योगिक सुरक्षा, सीमा सुरक्षा, सडक सुरक्षा जस्तै अब चिकित्सक सुरक्षा फोर्स पनि गठन गर्न तर्फ राज्यले सोच्ने बेला आएको छ,’ उलने भने, ‘दिनप्रतिदिन देशैभर स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमणका घटना बढ्नु चिन्ताको विषय मात्र होइन, यसको दिर्घकालिन समाधानका उपाय खोजिनु पर्छ ।’

उनले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि विषयान्तरण गरेर राजनीतिक आवरणमा गरिने आक्रमणका घटनालाई निर्मुल पार्न आवश्यक रहेको औल्याए ।

कार्यक्रममा नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष बद्री रिजालले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले दिने सेवा प्रवाहमा कुनै कमिकमजोरी पाईएमा कानून अनुसार कार्वाही गर्न पाउने थुप्रै वैकल्पिक उपायहरु हुँदाहुँदै सिधै भौतिक आक्रमणमा उत्रिनु दुःखद् पक्ष भएको बताए ।

उनले लामो संघर्षपछि आफैले ल्याएको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन’ कार्यान्वयनका लागि सरोकारवालाले चाँसो नदिएपछि अहिले स्वयमं आफैले प्रचारप्रसार गर्दै हिड्नु परिरहेको जनाए ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले स्वास्थ्यकर्मी तथा संस्थाहरु विरुद्ध हिन्सा तथा तोडफोड  निम्त्याउने विरामीका परिवार एवं आफन्त वीच स्थानीय प्रशासनले बढी समन्वय गरे घटना न्यूनीकरणमा सहयोग पुग्ने धारणा राखें ।

त्यस्तै नेपाल चिकित्सक संघ सुर्खेत शाखाका कार्यवाहक अध्यक्ष डाक्टर सुजन सापकोटाले स्वास्थ्यकर्मी तथा स्थावस्थ्य संस्थामाथिको आक्रमण रोक्न स्थानीय तथा प्रदेश सरकारहरुको भूमिका प्रभावकारी नहुँदा कार्यस्थलमा अहिलेपनि थुप्रैखाले जोखिमहरुका वीच काम गर्नु परिरहेको गुनासो गरे ।

उनले गत जेठ १२ गते मेहलकुना अस्पताल र बेला–बेला प्रदेश अस्पतालमाथि हुने भौतिक आक्रमणप्रति प्रदेश सरकारसँगै सम्बन्धित सरोकारवालाहरु समेत बेखर रहने गरेको बताए । उनका अनुसार स्वास्थ्यकर्मी तथा स्थावस्थ्य संस्थाको सुरक्षाप्रति प्रदेश सरकार  बढी जिम्मेवार बन्नु पर्छ ।

कार्यक्रममा सरकारी वकील कार्यालय सुर्खेतका प्रमुख नविनकुमार भट्टले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुुरक्षाका लागि सरकारी पक्षबाट कुनैपनि प्रकारको कसर बाँकी राख्न नहुने बताए ।

‘यद्यपि ! कतिपय ठाउँमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाकै कारण बिरामीलाई क्षति पुगेको छ । त्यस्तालाई कारवाही हुनुपर्छ । उचित रुपमा उपचार हुँदाहुँदै बिरामीलाई केही भएमा मोलमोलाई गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिनु पर्छ’, उनले भने, ’स्थानीय प्रशासनले त्यसमा सहयोग गर्नु पर्छ ।’

उनले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरुले समेत हिंसा तथा तोडफोडका घटनाहरु रोक्न स्वयंमले समेत आवश्यक पहलकदमी  चाल्न जरुरी रहेको औल्याए ।

कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तथा (एसएसपी) वीरबहादुर ओलीले कानूनको परिधि भित्र रहेर नेपाल प्रहरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरुको सुरक्षामा कुनै कसर बाँकी नराख्ने जिकिर गरे ।

उनले कुनैपनि प्रकारको द्वन्द्वले कसैको हित नगर्ने हुँदा सामाजिक सदभाव, शान्ति सुरक्षा कायम राख्न प्रहरीसँगै सरोकारवाला सबैको  समन्वय तथा सहकार्य जरुरी रहेको औल्याए ।

कार्यक्रममा स्वास्थ्य सम्बद्ध विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि पछिल्लो समय आक्रमणका घटना बढेको भन्दै सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका थिए ।

Translate »