स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथिको भौतिक आक्रमण रोक्न माग

सुर्खेत । नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था माथिको भौतिक आक्रमण रोक्न माग गरेको छ ।

संघले विहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि प्रचारप्रसार तथा अन्तरक्रिया कार्यक्रम’ मा देशैभर कुनै न कुनै बहाना बनाएर स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि भईरहेका भौतिक आक्रमणले चिकित्सा क्षेत्रलाई गम्भिररुपले सोच्न बाध्य पारेको संघले जनाएको हो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर अनिलविक्रम कार्कीले मानव स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थामा सुरक्षित रुपले काम गर्ने वातावरण सृजना गरि सुरक्षाको प्रत्याभूति सरकारले दिनुपर्ने माग राखें ।

स्वास्थ्यकर्मीले आफ्नो कार्यक्षेत्रमा निर्धक्क भएर काम गर्ने वातावरण नबनेसम्म स्वास्थ्य क्षेत्रले फड्को मार्न नसक्ने बताउँदै उनले न्यून सेवा सुविधाका वावजुद समाज तथा राष्ट्रका लागि सेवाभावले प्रेरित भएर लागेका स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्ने बताए ।

औद्योगिक सुरक्षा, सीमा सुरक्षा, सडक सुरक्षा जस्तै अब चिकित्सक सुरक्षा फोर्स पनि गठन गर्न सरकारसँग उनले माग राखें ।

कार्यक्रममा नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष बद्री रिजालले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले दिने सेवा प्रवाहमा कुनै कमिकमजोरी पाईएमा कानून अनुसार कार्वाही गर्न पाउने थुप्रै वैकल्पिक उपायहरु हुँदाहुँदै सिधै भौतिक आक्रमणमा उत्रिनु दुःखद् पक्ष भएको बताए ।

उनले लामो संघर्षपछि आफैले ल्याएको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन’ कार्यान्वयनका लागि सरोकारवालाले चाँसो नदिँदा अहिले स्वयमं आफैले प्रचारप्रसार गर्दै हिड्नु परिरहेको जनाए ।

त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले स्वास्थ्यकर्मी तथा संस्थाहरु विरुद्ध हिंसा तथा तोडफोड निम्त्याउने विरामीका परिवार एवं आफन्त वीच स्थानीय प्रशासनले समन्वय गरे घटना न्यूनीकरणमा सहयोग पुग्ने धारणा राखे ।

कार्यक्रममा सरकारी वकील कार्यालय सुर्खेतका प्रमुख नविनकुमार भट्टले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुुरक्षाका लागि सरकारी पक्षबाट कुनैपनि प्रकारको कसर बाँकी राख्न नहुने बताए । उनले कतिपय ठाउँमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाकै कारण बिरामीलाई क्षति पुग्ने गरेको पाईएकाले त्यस्तो प्रवृत्ति रोक्नतर्फ सचेत रहन आग्रह गरे ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरुले समेत हिंसा तथा तोडफोडका घटनाहरु रोक्न सरकारले मात्र नभई स्वयमं स्वास्थ्यकर्मी तथा संस्थाहरुले समेत आवश्यक पहलकदमी चाल्न जरुरी रहेको उनले औल्याए ।

कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी तथा (एसएसपी) वीरबहादुर ओलीले कानूनको परिधि भित्र रहेर नेपाल प्रहरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरुको सुरक्षामा कुनै कसर बाँकी नराख्ने गरेको बताए ।

उनले कुनैपनि प्रकारको द्वन्द्वले कसैको हित नगर्ने हुँदा सामाजिक सद्भाव, शान्ति सुरक्षा कायम राख्न प्रहरीसँगै सरोकारवाला सबैपक्षको समन्वय तथा सहकार्य आवश्यक रहेको औल्याए ।

कार्यक्रममा स्वास्थ्य सम्बद्ध विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि पछिल्लो समय आक्रमणका घटना बढेको भन्दै सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएका थिए ।

Translate »