वृक्षारोपण समृद्धिका लागि हुनु पर्छ : कर्णालीका मुख्यमन्त्री कँडेल

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वृक्षारोपण रोप्नका लागि मात्र रोप्ने नभई समृद्धिका लागि हुनु पर्ने बताएका छन् ।

डिभिजन वन कार्यालय सुर्खेतले आज वीरेन्द्रनगरमा शुरु गरेको ‘प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१’ को शुभारम्भ गर्दै मुख्यमन्त्री कँडेलले वृक्षारोपण गरेपछि वेवास्ता गर्ने अहिलेसम्मको अवस्थालाई अब बद्ल्न आवश्यक रहेको औल्याए ।

उनले सरकारीस्तरबाट गरिएका कार्यहरु क्या राम्रो हुँदा रहेछन भन्ने अनुभूति हुने गरि वृक्षारोपण कार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । वृक्षारोपण गरेर मात्र नपुग्ने हुँदा रोपेका बिरुवाहरुको उचित हेरचाह, संरक्षण तथा दिगोव्यवस्था गर्ने कार्य सबैको जिम्मेवारी भएको उनको भनाइ थियो ।

वृक्षारोपण कार्यक्रममा डिभिजन वन कार्यालयले वीरेन्द्रनगर–११, सुब्बाकुनादेखि वीनपाकै वडा नम्वर १, बाङ्गेसीमलसम्मको रोडको डिभाइडरमा ‘भावी सन्तती र समृद्धिका लागि वृक्षारोपण भन्ने मुल नाराका साथ स्वामी, कल्की फूल, पारिजात लगायतका सौन्दर्यमूल प्रजातिका वृक्षाहरु रोप्ने कार्य शुरु गरेको छ ।


कार्यालयले अघि सारेको ‘प्रदेश राजधानी हरियाली कार्यक्रम २०८१’ मा सहकार्य तथा समन्वयका लागि वातावरणप्रेमी व्यक्तित्वहरुसँग हातेमालो गर्न आग्रह गरिएको डिभिजन वन अधिकृत बसन्तबाबु श्रेष्ठले जानकारी दिए ।

उनले ११ दिने प्रदेश राजधानी वृक्षारोपण कार्यक्रम अन्तर्गत ट्रिगार्डसहित १ हजार १ सय ११ वटा विरुवा वीरेन्द्रनगरका मुख्य सडकहरुका डिभाइडरमा रोपिने लक्ष्य रहेको बताए ।

२० लाख लागतको उक्त कार्यक्रमबाट रोपेका बिरुवाहरुको उचित हेरचाह र संरक्षणका लागि ‘वन हेरालु’ समेत परिचालन गरिने उनको भनाइ थियो । वृक्षारोपण कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतलगायत वातावरणप्रेमीहरुको सहभागिता रहेको थियो ।

Translate »