मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : एमाले अध्यक्ष ओली


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन-आश्रितको हत्यारा पत्ता लाग्ने बताएका छन् । विचारमा स्पष्ट तथा प्रष्ट वक्ताका रुपमा लिइने ओलीले शुक्रबार राष्ट्रिय समाचार समितिलाई एक अन्तर्वार्ता दिनेक्रममा यस्तो बताएका हुन् ।
मदन–आश्रितको दासढुङ्गा दुर्घटनामा भएको मृत्युलाई एमालेले सुरुदेखि नै हत्या हो भन्दै आएको छ । एमाले पनि पटकपटक सरकारको नेतृत्वमा पुग्यो तर त्यसको अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन सकेन भनेर मानिसहरु प्रश्न गर्ने गर्छन् नि ? भन्ने राससको प्रश्नमा उनले भने, ‘जब सत्ता र शक्ति बाधक हुन्छ, कुनै कुनै सत्य प्रकट हुनबाट रोकिन्छ ।
नेपालमा दुई ठूला घटना मदन–आश्रितको हत्या र दरबार हत्याकाण्डका दोषी अझै पत्ता लागेका छैनन् । दरबार हत्याकाण्डमा पनि तत्कालीन युवराज दीपेन्द्रको देवयानी भन्ने युवतीसँग प्रेम थियो र त्यो प्रेम सफल हुन मातापिता अर्थात् तत्कालीन राजा र रानीले दिएका थिएनन्, त्यसकारणले उनले परिवारै सखाप पारे भन्ने खालको कथा घटना भएकै राति विश्वव्यापी बनाइयो । मानौँ कि त्यही प्रेम कहानीका कारण सारा दरबार दीपेन्द्रले नै सखाप पारे ।

हामीलाई अथवा कुनै नेपाली नागरिकलाई ती पात्रका बारेमा पहिला केही थाहा पनि थिएन । अकस्मात् ती पात्र खडा गरियो र यसैसँग त्यो हत्याकाण्डलाई जोडियो । यसरी जोडियो कि हामीलाई केही थाहा नभएको कुरा एकैपटक विश्वव्यापी बनाइयो । यो स्पष्टै बुझ्न सकिन्छ कि यथार्थलाई छोप्नका लागि शक्तिमा रहेकाहरुले त्यो कथा बाहिर ल्याएका थिए । यसको रहस्य पनि खुल्छ कुनै दिन ।’
२०५० साल जेठ ३ गते भएको दासढुङ्गा दुर्घटना आजसम्म पनि रहस्यकै गर्भमा छ । उक्त दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डरी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो ।
यस घटनाबारे संवादका क्रममा ओलीले भनेका छन्, ‘कतिपय यस्ता घटना–दुर्घटनाका सत्यतथ्य सार्वजनिक हुन समय लाग्छ । सत्यहरुलाई शक्तिले लुकाउँछन् नै । तर त्यो प्रयत्न सधैँ सफल हुँदैन। समयक्रममा सत्य त बाहिर आइहाल्छ नै । समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ । मदन–आश्रितको हत्यारा पत्ता लाग्छ ।’

