एउटै गाउँबाट १२ करोड बढीको आलु निकासी


सल्यान । सल्यानको बाफुखोलाबाट १२ करोड रुपैयाँ बढीको आलु बिक्री भएको छ । बर्खे आलु उत्पादनको हवको रुपमा रहेको जिल्लाको बागचौर नगरपालिका वडा नं–११ र १२ बाफुखोलाबाट १२ करोड रुपैयाँ बढीको आलु किसानले बिक्री गरेका हुन् । बाफुखोलाका करिब ६ सय परिवारले विगतदेखि आलु उत्पादन गर्दै आएका छन् । यस क्षेत्रमा एक हजार हेक्टरभन्दा बढी जग्गामा आलु खेती गरिन्छ ।
वार्षिक पाँच लाख रुपैयाँसम्म आम्दानी हुँदै आइरहेको बाफुखोलाका ५० वर्षीय डिल्ली ओली बताए । घर खर्च चलाउन भारतको सिमलामा रोजगारी गर्दा पनि वर्षभरि छाक टार्न धौ–धौ हुन थालेपछि आफ्नै घर फर्किएर घर नजिकैको जग्गामा आलु खेती सुरु गरेको उनको भनाई छ ।

गत वर्ष आलु बिक्री गरेर तीन लाख रुपैयाँ आम्दानी गर्नु भएका बाफुखोलाकै ४६ वर्षीय वीरसिंह ओलीले यो वर्ष चार लाख बढी आम्दानी भएको बताए । अहिले घर खर्च चलाउनको लागि आम्दानीको स्रोत खोज्दै भौंतारिनुपर्ने बाध्यता नभएको उनको भनाइ छ । आलु खरिदका लागि व्यापारी घरमै आउने भएकाले उत्पादित आलु बिक्री गर्न गाह्रो नभएको ओलीको भनाई छ ।
बागचौर नगरपालिका–१२ का अध्यक्ष टीकाराम ओलीले बर्खे आलुखेतीमा लागेपछि यहाँका किसानको जीवनस्तरमा उल्लेख्य सुधार आएको बताए ।
जिल्लाको बाफुखोलासँगै शिवरथ, दार्मा, दमाचौर, लेखपोखरा लगायतका क्षेत्रमा आलु खेती गरिन्छ । जिल्लाबाट बर्खे र हिउँदे आलु गरी वार्षिक झन्डै ४० करोडको आलु उत्पादन हुने गरेको कृषि विकास कार्यालय सल्यानका प्रमुख रेशम कुमार बस्नेतले बताए ।

