सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीद्वारा पदबाट राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् ।

आज बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले राजीनामाको घोषणा गरेका हुन् । मुख्यमन्त्री सोडारीले विश्वासको प्राप्त गर्न सक्ने अवस्था नदेखिएपछि अन्तिम समयमा पदबाट राजीनामा दिएका हुन् ।

बैठकमा सोडारीले केन्द्रीय राजनीति समीकरण फेरवेदलसंगै प्रदेशमा पनि सरकार फेरवेदलको अवस्थामा पुगेको बताए । तीन महिना छोटो (अवधि) सरकार नेतृत्व गर्दा आफूले जनताको आशा र अपेक्षालाई सम्बोधन गर्ने प्रयत्न गरेको सोडारीले जिकिर गरे ।

उनले राजीनामा दिएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली काँग्रेसको सहमति अनुसार सुदूरपश्चिम प्रदेशमा काँग्रेसले सरकारको नेतृत्व गर्ने छ । तत्कालीन सत्ता साझेदार दल नेकपा एमालेले असार २० गते समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सोडारी बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पारित नहुँदा यहाँ बजेट शून्यताको अवस्था रहेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा (बहुमत) २७ जना आवश्यक पर्छ । यहाँ काँग्रेसका १८ र एमालेका ११ जना प्रदेश सभा सदस्य छन् । यस्तै माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति ७, एकीकृत समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य छन् ।

Translate »