१८ करोड रुपैयाँको पशु खोप निर्यात

काठमाडौं । नेपालको निजीक्षेत्रबाट उत्पादित पशु खोप बंगलादेश र चार अफ्रिकी देशमा निर्यात हुने गरेको छ । गत आर्थिक वर्ष (आव) २०८०/८१ मा १८ करोड २९ लाख रुपैयाँ बराबरको ३ करोड ६५ लाख ९१ हजार डोज पीपीआर खोप नेपालले निर्यात गरेको छ । पशुमा लाग्ने महामारीजन्य रोगमा प्रयोग हुने यस्तो खोप नेपालले बंगलादेश र अफ्रिकाका सुडान, केन्या, मौरिटानिया र चाड गणतन्त्रमा निर्यात गरेको हो ।

भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट निर्यात भएको खोपमध्ये सबैभन्दा बढी बंगलादेश गएको छ । बंगलादेशमा २ करोड २५ लाख ७ हजार ६०० डोज निर्यात भएको छ । मौरिटानियामा ७० लाख डोज, सुडानमा ५१ लाख, केन्यामा ११ लाख ५० हजार र चाडमा ८ लाख ३३ हजार ४०० डोज खोप निर्यात भएको देखिन्छ ।

नेपालले ती देशमा निर्यात गर्ने पीपीआर खोप भेडा/बाख्रामा लाग्ने महामारी नियन्त्रण तथा रोकथामका लागि प्रयोग हुने पशुसेवा विभागका वरिष्ठ पशुपन्छी विकास अधिकृत डा. चन्द्र ढकालले बताए ।


ढकालका अनुसार सरकारले पीपीआर भ्याक्सिन नेपालमा नि:शुल्क उपलब्ध गराउँछ । तर, बंगलादेश र अफ्रिकी देशमा पीपीआर भ्याक्सिन उत्पादन महँगो पर्ने भएकाले नेपालबाट आयात गर्ने गर्छन् । नेपालमा निजीक्षेत्रको हेस्टर बायोसाइन्सेज नेपालले पीपीआर भ्याक्सिन उत्पादन गर्छ । यो गोल्छा समूहअन्तर्गतको कम्पनी हो । भारतको हेस्टर बायोसाइन्सेज लिमिटेड र हिम इलेक्ट्रोनिक्स प्रालिबीचको संयुक्त उपक्रमले पशु खोप उत्पादन गर्दै आएको छ ।

सरकारी स्वामित्वको राष्ट्रिय खोप उत्पादन प्रयोगशालाले भने आफूले उत्पादन गरेको पीपीआर खोप देशभित्र नि:शुल्क वितरण मात्र गर्ने गरेको छ । प्रयोगशालाका सूचना अधिकृत मनीषमान श्रेष्ठले गत आव २०८०/८१ मा १ करोड ३० लाख डोज खोप उत्पादन गरेको बताए । अघिल्लो आव भने करीब ८० लाख डोज पीपीआर खोप उत्पादन गरेको थियो ।

उनका अनुसार सरकारी प्रयोगशालाबाट उत्पादित पीपीआर खोप विदेश निर्यात गरिँदैन । प्रयोगशालाका अनुसार यसबाट उत्पादित अन्य खोपको विक्रीवितरण निजीक्षेत्रका विक्रेताले गर्ने भए पनि त्यस्ता विक्रेतामार्फत पीपीआर खोप विक्रीवितरण निषेध गरिएको छ । निजीक्षेत्रबाट पशु खोप निर्यात भइरहे पनि विदेशबाट समेत नेपालले पशु खोप आयात गर्ने गरेको छ ।

भन्सार विभागका अनुसार गतवर्ष नेपालले बंगलादेश, चीन, क्यानडा, फ्रान्स, जर्मनी, जापानलगायत मुलुकबाट ६४ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको १३ लाख ४२ हजार ७३३ डोज खोप आयात गरेको छ । नेपालले लम्पी स्किन, स्वाइन फिभर लगायत रोगको खोप विदेशबाट आयात गर्छ । पशुमा लाग्ने अधिकांश रोगको खोप नेपालमै उत्पादन हुने गर्छ ।  आर्थिक अभियान

Translate »