रेडक्रसको भूमिकालाई थप सशक्त बनाउन आवश्यक देखियो : आर्थिक मन्त्री शाह
सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले नेपाल रेडक्रस सोसाईटीको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।
आज सुर्खेतको वीरेन्द्रनगरमा नेपाल रेडक्रस सोसाईटीको ६२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शाहले समय सापेक्ष कर्णालीको आवश्यकतामा आधारित रेडक्रसको भूमिकालाई थप सशक्त र प्रभावकारी बनाउन आवश्यक रहेको औल्याएका हुन् ।
उनले मानवताका लागि काम गर्ने रेडक्रसको भूमिका सर्वोपरी रहेपनि वर्तमान समाज रुपान्तरणको आवश्यतालाई परिपूर्ति गर्न प्रदेश सरकार हातेमालो गरेर अगाडि बढ्न तयार रहेको जिकिर गरे ।
कार्यक्रममा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेलले समाज उत्थानमा रेडक्रसको भूमिका शुरुदेखि नै प्रभावकारी रहेकाले आगामी दिनमा समेत सहकार्य तथा समन्वय गरेर अगाडि बढ्ने बताए ।
उनले रक्तदाताहरुले रक्तदान गरेको रगतलाई अब सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने बारेमा प्रदेश सरकारसँग छलफल गरिने जनाए । सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सबैभन्दा ठूलो मानविय संस्थाका रुपमा रहेको रेडक्रस सरकारको सहयोगी संस्थाको रुपमा रहेको बताए ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले मानव सेवाका लागि सर्वोपरी रहेको रेडक्रससँग निजीक्षेत्र आफ्नो सामाजिक उत्तरदायित्वलाई सहकार्य तथा समन्वय गर्न सदैव तयार रहेको जनाए ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य प्रवासकुमार शाक्यले रक्तदान गरेको रगत विभिन्न अस्पतालहरुले चर्को पैंसा लिएर विरामीलाई विक्री गर्ने कार्य सरकारले निःशुल्क उपलब्ध गराउने तर्फ पहल गर्न आग्रह गरे ।
यता नेपाल रेडक्रस सासाईटी सुर्खेत शाखाका अध्यक्ष तथा केन्द्रीय सदस्य रामलाल आचार्यले कर्णालीमा रेडक्रसद्वारा मानवताका लागि सञ्चालित विभिन्न सेवाहरुको थप स्तरोन्नती गर्न आवश्यक रहेकाले तीनै तहका सरकारहरुको आर्थिक तथा भौतिक सहयोग आवश्यक रहेको औल्याए ।
उनले आन्तरिक सशस्त्र संघर्ष, प्राकृतिक विपत्ति वा शान्ति सबै परिस्थितिमा विगत ६२ वर्षदेखि क्रियाशील नेपाल रेडक्रसले धेरै कालखण्ड पूरा गरी अहिलेको अवस्थामा आइपुगेको बताए । पारदर्शी, जवाफदेही, मितव्ययी र सक्षम संस्थाको रुपमा नेरेसोलाई विकास गर्न सबैको सहयोग अपरिहार्य रहेको उनको भनाई थियो ।
‘मानवतालाई जीवित राखौं’ भन्ने नाराका साथ मनाईएको स्थापना दिवसका अवसरमा आयोजित कविता प्रतियोगिताका विजयी प्रतियोगी, रक्तदान शिविर आयोजना गरी धेरै रक्त संकलन गर्ने ३ वटा स्वयमसेवी संस्था तथा सेवा निवृत्त कार्यालय प्रमुख गोविन्दप्रसाद आचार्यलाई समेत पुरस्कार तथा सम्मान गर्नुका साथै १८ जनाको निःशुल्क मोतियाविन्दु अप्रेसशन गरिएको रेडक्रस सुर्खेतका मन्त्री चेतनकुमार सुवेदीले बताए ।
नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारको सहयोगीका रुपमा रही संगठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा संकट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तहरुको प्रवर्द्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्वपूर्ण गतिविधि सञ्चालन गर्दै आएको मन्त्री सुवेदीले जानकारी दिए ।