प्रेस चौतारी सुर्खेतको तीज विशेष कार्यक्रममा छमछमी नाचे पत्रकार महिला
वीरेन्द्रनगर । प्रेस चौतारी नेपाल सुर्खेतले आयोजना गरेको तीज विशेष कार्यक्रममा पत्रकार महिला छमछमी नाचेका छन् ।
चौतारीले हरितालिका तीज पर्वको अवसर पारेर महिला पत्रकारहरु वीच आपसी सद्भाव स्थापित गराउन भेटघाट, शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रमको आयोजना गरेको हो ।
बुधबार वीरेन्द्रनगरमा चौतारीको तीज विशेष कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य नवराज रावतले पछिल्लो समय तीज भड्किलो, चडकिलो खर्चिलो बन्दै गएकोले मौलिकतालाई बचाउदै तीज पर्व मनाउनु पर्नेमा जोड दिए । उनले मौलिक कला संस्कृतीको जर्गेना गर्दै एक आपसमा भेटघाट गराएर दुःख सुख साट्ने अवसर दिनु सुःखद पक्ष भएको बताए ।
कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश कमिटीका उपसचिव पद्मा खड्काले चौतारीको तीज विशेषमा महिला दिदिवहिनीहरुसँग रमाउन, भेटघाट गर्न पाउँदा आफु निकै हर्षित भएको बताईन् । उनले तीज महिलाहरुको विशेष पर्व भएकोले चौतारीले आफ्ना संगठन भित्रका महिलाहरुसँगै विभिन्न पेशा तथा व्यबसाय गर्दै आएका महिलाहरुलाई समेटेर तीज विशेष कार्यक्रम राखेकोमा धन्यवाद व्यक्त गरिन् ।
नेकपा एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले संगठनलाई बलियो, क्रियाशील र चलायमान बनाउन फरक–फरक गतिविधिले नयाँ जोस, जाँगर आउने गरेको बताए । प्रेस चौतारी कर्णाली प्रदेशका अध्यक्ष प्रकाश अधिकारी, सुर्खेत जिल्ला अध्यक्ष गोविन्द खत्री एवं सचिव मुना हमाललगायतले कार्यक्रमको सहजिकरण गरेका थिए ।