आज र भोली देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


काठमाडौं। सरकारले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत आज र भोली (शनिबार र आइतबार) देशभरका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागका अनुसार, भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई खुवाइने छ। सोही अवसरमा एक वर्षदेखि पाँच वर्ष उमेर समूहका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइनेछ। साथै, बालबालिकालाई बालभिटा पनि वितरण गरिने र कुपोषणको परीक्षणसमेत गरिनेछ।
स्वास्थ्यकर्मी र स्वयंसेविकाको सक्रियता
कार्यक्रम सफल बनाउन देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालित गरिएका छन्।

कार्यक्रमको इतिहास
भिटामिन ‘ए’ कार्यक्रम सन् १९९३ (विक्रम संवत २०५०) मा आठ जिल्लाबाट सुरु भई सन् २००२ (वि.सं. २०५९) देखि देशभर लागू गरिएको हो।
जुका औषधि वितरण कार्यक्रम सन् १९९९ ९वि।सं। २०५६० मा १३ जिल्लाबाट सुरु भई सन् २०१० ९वि।सं। २०६७० मा राष्ट्रिय स्तरमा विस्तार गरिएको हो।
बालभिटा वितरण कार्यक्रम सन् २००७ ९वि।सं। २०६४० देखि सुरु गरिएको हो।
सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाख महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने व्यवस्था गर्दै आएको छ।
बालबालिकाको स्वास्थ्यका लागि भिटामिन ‘ए’ र जुकाको औषधि किन आवश्यक छ ?
नेपालमा अझै पनि कुपोषण बालबालिकाको प्रमुख स्वास्थ्य समस्यामध्ये एक हो। कुपोषणले बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासमा गम्भीर असर पार्दछ। बाल्यावस्थामा पोषणको अवस्था राम्रो भएन भने यसको दीर्घकालीन प्रभाव जीवनभर रहन सक्छ। यिनै समस्याहरू न्यूनीकरण गर्न सरकारले देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ।
भिटामिन ‘ए’ किन आवश्यक छ ?
आँखा स्वस्थ राख्न मद्दत गर्छ ।
रातमा देख्न सक्ने क्षमता (रतन्धो) बढाउँछ ।
संक्रमणविरुद्ध लड्न शरीरलाई शक्ति दिन्छ ।
भिटामिन ‘ए’ को कमीले आँखामा घाउ, दृष्टि गुम्ने समस्या देखिन्छ ।
सरकारी तथ्याङ्क अनुसार, नेपालमा प्रत्येक दिन एक जना बालबालिका अन्धो हुने गरेका छन् ।
जुकाले कसरी असर गर्छ ?
सरसफाइको अभावले जुका लाग्ने गर्छ ।
जुकाले आन्द्रामा घाउ बनाउँछ र पोषक तत्त्व चुस्छ ।
यसले बालबालिकालाई बिस्तारै कुपोषित बनाउँछ ।
शारीरिक कमजोरी र सिकाइ क्षमतामा असर पुग्छ ।

