सोमबार प्रचण्ड सुर्खेत आउँदै

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत आउने कार्यक्रम तय भएको छ । ‎‎

माओवादी निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) को कर्णाली प्रदेश सम्मेलनलाई सम्बोधन गर्नका लागि उनी यहीं बैशाख २९ गते सोमबार सुर्खेत आउन लागेका हुन् । वाईसीएल कर्णालीले आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर यहीं बैशाख २९ र ३० गते हुने प्रदेश सम्मेलनमा ८ सय १७ जना प्रतिनिधि सहभागी हुने जनाएको छ ।

कार्यक्रममा माओवादी कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्लले कर्णाली प्रदेशका १० वटा जिल्ला मध्य मुगु बाहेक अरु सबै जिल्लाबाट प्रतिनिधि प्रदेश सम्मेलनमा सहभागि हुने जानकारी दिए । उनले मुगुमा युवा जति कोही विदेश र कोही या¥र्सा टिप्न गएकाले वाईसीएलको जिल्ल्ला कमिटी गठन गर्न नसकिएको बताए ।

कर्णाली प्रदेशका ९ जिल्लाका वडा, पालिका र जिल्ला तहमा सम्मेलनहरु सम्पन्न गरी सुर्खेतमा प्रदेश सम्मेलन आयोजना गर्न लागिएको उनका भनाई छ । कार्यक्रममा वाईसीएल कर्णाली प्रदेश अध्यक्ष शोभाकर भण्डारीले आउँदो जेठ १७, १८ र १९ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनका लागि कर्णाली प्रदेश सम्मेलनबाट प्रतिनिधिहरु छनौट गरिने जानकारी दिए ।

उनले सम्मेलन मार्फत कालोबजारी, अनियमितता र अराजकतालाई निस्तेज गर्दै सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्न युवालाई सामुहिक उत्पादनसँग जोड्न लागिएको बताए ।

Translate »