२०८३ असोज २० , मंगलबार
Sky News Nepal
October 6, 2026

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर : साढे ३ सय नागरिक प्रत्यक्ष लाभान्वित



सुर्खेत । स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका वीरेन्द्रनगर भित्रका साढे तीन सय जना नागरिकलाई निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह गरिएको छ ।

वीरेन्द्रनगर जेसीजले अमेरिकन कम्पनी मेटलाईफ इन्स्योरेन्सको आर्थिक सहयोगमा विपन्न, असाहय तथा सीमान्तकृत नागरिकका लागि औषधिसहितको ‘निःशुल्क स्वास्थ्य शिविर’ मार्फत विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह गरेको हो ।

सुर्खेत वीरेन्द्रनगरको स्थित मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको सेमिनार हलमा आयोजित ‘निःशुल्क स्वास्थ्य शिविर’ बाट ३ सय ५३ जना नागरिकले औषधिसहितको निःशुल्क स्वास्थ्य लाभ लिएको वीरेन्द्रनगर जेसिजका पूर्व अध्यक्ष तथा स्वास्थ्य शिविर संयोजक श्यामकुमार थापाले बताए ।

उनले विपन्न, असाहय तथा सीमान्तकृत नागरिकका लागि डाक्टरको सिफारिस अनुसार १ देखि ३ महिनासम्म पुग्ने औषधिसहित स्वास्थ्य शिविरमा आउने–जाने यातायातको व्यवस्था समेत मिलाईएको जानकारी दिए । दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचसम्म पु¥याउन ‘निःशुल्क स्वास्थ्य शिविर’ प्रभावकारी रहेकाले आउँदा दिनहरुमा समेत सामाजिक उत्तरदायित्वपूर्ण कार्यलाई निरन्तरता दिईने उनको भनाइ थियो ।

स्वास्थ्य शिविरको शनिबार मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार डाक्टर शोभाकर कँडेलले एक कार्यक्रमका वीच उद्घाटन गर्दै स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका झुप्रा खोलाका बादी समुदाय र रानीघाटमा बस्दै आएका बाढीपीडितलाई विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवाको पहुँच पु¥याउनु ठूलो मानव सेवा भएको बताए ।

उनले निःस्वार्थ मानव सेवामा समर्पित वीरेन्द्रनगर जेसिजले विपन्न, असाहय तथा सीमान्तकृत नागरिकका लागि औषधिसहितको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी पूण्य गरेको प्रति धन्यवाद व्यक्त गरे ।

शिविरमा नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर. पारस पौडेल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर शुभ श्रेष्ठ, स्त्रीरोग विशेषज्ञ डाक्टर कृतिका थापा, जनरल फिजिसियन तथा सर्जन डाक्टर कुलराज शाही, डेन्टल तथा अर्थोडेन्टिस्ट डाक्टर सुरक्षा सिंह ठकुरीले बिरामीको चेकजाँच तथा परामर्श सेवा उपलब्ध गराएका थिए ।

कार्यक्रममा मेटलाइफ सुर्खेत शाखाका प्रमुख दिलीपजंग शाहीले मेटलाइफको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विपन्न नागरिकका लागि ‘निःशुल्क स्वास्थ्य शिविर’ सञ्चालनका लागि आर्थिक सहयोग गरिएको बताए ।

उनले आउँदा दिनहरुमा समेत समाजमा सकारात्मक प्रभाव पार्ने खालका कार्यक्रमलाई मेटलाइफको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरे । यता स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको शिविरमा सेवाग्राहीहरुले राम्रो सेवा पाएको प्रतिक्रिया दिएको वीरेन्द्रनगर जेसिजका महासचिव आशिस थापाले बताए ।

प्रकाशित मिति : २०८२ जेठ ४ गते आइतबार
Translate »