जिप दुर्घटनामा परी टेलिकमका प्रमुखसहित ३ जनाको मृत्यु


बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
आज बिहान जगन्नाथको पिलुचौरबाट काँडाकोटमा रहेको नेपाल टेलिकमको टावर मर्मतका लागि टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्कालगायत कर्मचारी चढेको टेलिकमकै बा ५ च–२२०९ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको घटना स्थलमै मृत्यु भएको र २ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक करन महतारा र जिपमा सवार रवीन्द्र धामीको मृत्यु भएको हो । गम्भीर घाइते हुनेमा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देबबहादुर चौधरीले बताए ।
उनका अनुसार नेपाल टेलिकमको टावरमा सोलार प्यानल जोड्न पिलुचौरबाट गएको जिप सडक बाट अन्दाजी ८० मिटर तल खसेको छ ।


