सुर्तीजन्य पदार्थ बिक्री वितरणमा कडाइ गर्दै सुर्खेत प्रशासन

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा कडाइ गर्ने तयारी थालेको छ ।
निषेधित क्षेत्रमा खुल्ला रूपमा सुर्तीजन्य पदार्थ बिक्री वितरण हुने गरेको जनगुनासो बढेपछि प्रशासनले अनुगमन गर्दै निषेधित क्षेत्रमा राखिएको सुर्तीजन्य पदार्थ जफतसहित आवश्यक परे मुद्दा समेत चलाउने योजना अघि सारेको हो । अस्पताल, विद्यालय लगायतका सार्वजनिक क्षेत्र नजिकमा राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि जिल्ला प्रशासनले अब कडाई शुरु गर्न लागेको छ ।
धुम्रपान तथा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धि जिल्ला स्तरीय समन्वय बैठकलाई विहीबार सम्बोधन गर्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले जिल्ला जन स्वास्थ्य कार्यालय, सुर्खेत उद्योग वाणिज्य संघ र विद्यालयहरुलाई सुर्तीजन्य पदार्थ नियन्त्रणमा कडाईका साथ जुट्न आग्रह गरे ।
उनले भने, ‘सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको विक्री वितरण गर्नु हुँदैन भनेर व्यवसायीहरु सचेत छन भन्ने हामीले बुझेका छौं । अनुगमनमा भेटिएको सामग्री जफत गर्ने आइन्दा बिक्री वितरणको काम नगर्न सचेत गराउने, पुनः अनुगमनका क्रममा भेटिए प्रचलित ऐन अनुसार कारबाही गर्ने ।’

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको ऐनमा सार्वजनिक स्थलमा कसैले धूम्रपान गर्न नपाइने, १८ वर्षमुनिका व्यक्तिले बेचबिखन गर्न नपाउने, चुरोट बट्टामा मात्र बिक्री वितरण गर्नुपर्ने, सार्वजनिक स्थलभन्दा एकसय मिटर टाढा मात्र सुर्तीजन्य पदार्थको बिक्री गर्नुपर्ने, सुर्तीजन्य पदार्थको सचेतनामूलक सूचना हरेक संस्थाले कार्यालयमा टाँस गर्नुपर्ने व्यवस्था गरेको छ ।
तर सार्वजनिकस्थलमै राखेर सुर्तीजन्य पदार्थ विक्री हुने गरेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले नियमनमा कडाइ गर्नु स्वागतयोग्य कदम भएको राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष कुमारी भुसालले बताईन् । उनले अस्पताल तथा विद्यालय क्षेत्र वरपरका पसलबाट बिक्री वितरणमा राखिएका सुर्तीजन्य पदार्थ जफत गरी आवश्यक कार्वाही गर्न अब ढिलाई गर्न नहुने जनाईन् ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काले अनुगमनका क्रममा पहिलो पटक सार्वजनिकस्थल नजिकमा सुर्तीजन्य पदार्थ विक्री गरेकाले उक्त सामग्री जफतसँगै सचेतना फैलाउन आवश्यक रहेको औल्याए । उनले पटक–पटक अटेरी गरे मात्र व्यापारीलाई जरिवानासहित कार्वाही गरिनु पर्ने बताए ।
सार्वजनिक सूचनामार्फत सार्वजनिक स्थानहरू सरकारी कार्यालय, विद्यालय, अस्पताल, बाल गृह, वृद्धाश्रम लगायतका स्थानहरूको एक सय मिटरभित्र सुर्ती र मदिराजन्य पदार्थहरू सेवन र बिक्री वितरण नगर्न व्यवसायीहरुलाई आग्रह गरिएको जन नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले बताए ।
सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न बनेको २०६८ को ऐनमा सार्वजनिकस्थलमा कसैले धूम्रपान गर्न नपाइने, चुरोट बट्टामा मात्र बिक्रीवितरण गर्नुपर्ने, एक–एक खिल्ली बिक्री गर्न नपाइने, सार्वजनिक स्थलभन्दा एक सय मिटर टाढा मात्र सुर्तीजन्य पदार्थको बिक्री गर्नुपर्ने, सुर्तीजन्य पदार्थको सचेतनामूलक सूचना हरेक संस्थाले कार्यालयमा टाँस गर्नुपर्ने, एक व्यक्तिले सेवन गरेको सुर्तीजन्य पदार्थले कसैलाई असर गर्न नहुनेलगायतका कुरा उल्लेख गरिएको छ ।
सोही ऐनको आधारमा सुर्खेत जिल्लामा रहेका विद्यालय क्षेत्र वरपरका पसलबाट बिक्री वितरणमा राखिएका सुर्तीजन्य पदार्थ जफत गरिने जनस्वास्थ्य कार्यालय सुर्खेतका फोकलपर्सन उदयबहादुर विसीले जनाए । कार्यक्रमको सहजीकरण जन स्वास्थ्यका पूर्व कर्मचारी बसन्त श्रेष्ठले गरेका थिए ।