२०८३ साउन १७ , आइतबार
Sky News Nepal
August 3, 2026

सुर्खेतका विभिन्न स्थानबाट निर्वाचन विरोधी गतिविधि गर्ने आठ जना पक्राउ



लक्ष्मी विक/ सुर्खेत । सुर्खेत प्रहरीले निर्वाचन विरोधी गतिविधि गर्ने आठ जनालाई जिल्लाका विभिन्न स्थान पक्राउ गरेको छ ।

प्रहरीले यहीं फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन विरोधी गतिविधि गर्ने आठ जनालाई नियन्त्रण लिएर कानूनी कार्वाहीका लागि आवश्यक अनुसन्धान अगाडि बढाईएको जनाएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टिका जिल्ला ईन्चार्ज ६६ वर्षिय नारायण न्यौपानेलाई सुर्खेतको वीरेन्द्रनगर–१, बाङ्गेसिमलबाट पक्राउ परेका हुन् । न्यौपाने वीरेन्द्रनगर–१, बाङ्गेसिमलका स्थायी बासिन्दा रहेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वैज्ञानिक समाजबादी कम्युनिष्ट पार्टिका जिल्ला सचिव ३० वर्षिय (डेबिट परियार) भनिने धिर दर्जी, कान्तिकारी कम्युनिष्ट पार्टीका व्यूरो सदस्य (सीसीएम) ४१ वर्षिय कर्णबहादुर विसी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टिको जिल्ला सचिव ३८ वर्षिय श्याम कुँवर, नेपाल कम्युनिष्ट पार्टी बहुमतका जिल्ला सचिव ४५ वर्षिय राजु भनिने राजुकुमार पौडेल, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) सुर्खेत जिल्ला कमिटीका सचिव ५४ वर्षिय रत्नबहादुर वली, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका–९, का वडा कमिटी सदस्य ६६ वर्षिय पुर्ण तिरुवा र रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, का ३८ वर्षिय मानबहादुर मल्ललाई चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका धिर दर्जी कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७, का स्थायी बासिन्दा हुन भने कर्णबहादुर विसी कालिकोटकै सान्नी त्रिवेणी गाउँपालिका–६, का स्थायी बासिन्दा रहेको प्रहरीको भनाइ छ । यस्तै पक्राउ गरिएका श्याम कुँवर कैलालीको धनगढी उपहानगर पालिका–१२, का स्थायी बासिन्दा हुन् भने राजुकुमार पौडेल सुर्खेतको वीरेन्द्रनगर–११, का बासिन्दा हुन् ।

त्यस्तै रत्नबहादुर वली सुर्खेतको भेरीगंगा नगरपालिका–१२, झुल्ने गाउँका स्थायी बासिन्दा हुन् भने सोही वडाका पुर्ण तिरुवा ठुलजात्री गाउँका स्थायी बासिन्दा रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख (एसपी) सुधिरराज शाहीले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको पाईएपछि उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको बताए ।

‘कतिपयलाई निर्वाचनविरुद्ध प्रचारप्रचारमा सक्रिय भएको अवस्थामा पक्राउ गरिएको छ भने कसरी निर्वाचनलाई सशक्त बहिष्कार गर्न सकिन्छ भनेर छलफल गरिरहेको अवस्थामा समेत पक्राउ छ,’ उनले भने, ‘कतिपयलाई अघिल्लोपटक पनि निर्वाचनविरुद्धको गतिविधिमा संलग्न भएको भन्दै ‘प्रिभेन्टिभ एरेष्ट’ गरिएको हो ।’ सुर्खेतका २० वटा मतदान केन्द्र अति संवेदनशील, ८७ वटा संवेदनशील र ३५ वटा सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ फागुन १४ गते बिहीबार
Translate »