सुर्खेत प्रहरीले इनिशा मृत्यु प्रकरणको रिपोर्ट बुझायो


सुर्खेत । सुर्खेतकी १६ वर्षीया इनिशा विकको बलात्कार र हत्या भएको घटनामा प्रहरीले सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको छ । जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सकेर आज जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
मुख्य अभियुक्तविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दायर गरी जन्मकैदको माग गरिएको प्रहरीले जनाएको छ। अन्य तीन जनाविरुद्ध भने घटनास्थलमा उपस्थित भएर पनि पीडितलाई बचाउने प्रयास नगरेको आरोपमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको छ । यसअघि पीडित परिवारले सामूहिक बलात्कारपछि हत्या भएको आशंका गर्दै विरोध जनाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेत घटनाको अनुसन्धानमा संलग्न भएको थियो ।
प्रहरीले उच्च प्रविधिको प्रयोग गरी अनुसन्धान गरेको जनाएको छ । प्रहरीले बुझाएको प्रतिवेदनमा मुख्य अभियुक्तका रुपमा घटनास्थलबाटै पक्राउ परेकासँगै अध्यनरत एक जना किशोरविरूद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा कसुरमा जन्म कैदको मागदाबी गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
अन्य तीन जनाको हकमा ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउन माग प्रहरीले गरेको छ । प्रहरीले बुझाएको रिपोर्टमा इनिशाको मृत्यु सामूहिक बलात्कारबाट नभई मुख्य अभियुक्तसँगको शारीरिक सम्पर्कका क्रममा लागेको गहिरो चोट र त्यसबाट भएको रक्तस्रावका कारण भएको निष्कर्ष निकालिएको छ ।

पोस्टमार्टम प्रतिवेदनले पनि यौनाङ्गको भित्री भागमा लागेको गहिरो चोटका कारण अत्यधिक रक्तस्राव भई मृत्यु भएको देखाएको प्रहरीको भनाइ छ । यद्यपि ! मृतकको डिएनए रिपोर्ट, मोबाइल ट्याप सम्बन्धी फरेन्सिक रिपोर्ट र टक्सिकोलोजी सम्बन्धी रिपोर्ट आइ नपुग्दै प्रहरीले इनिशा सम्बन्धि आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
सुर्खेतका प्रहरी प्रमुख (एसपी) सुधिरराज शाहीका अनुसार उल्लेखित केही अनुसन्धानहरु नेपालमा गर्न सम्भव नभएकाले हुँदा नमूना विदेशमा पठाइएको र रिपोर्ट आउन बाँकी छ। ‘त्यो रिपोर्ट प्राप्त भएमा इनिशाको मृत्युको कारण स्पष्ट रुपमा भन्न सहज हुने छ,’ उनले भने । त्यो परीक्षणले शरीरमा कुनै विषालु पदार्थ वा औषधि प्रयोग भए नभएको स्पष्ट भन्न सहज हुन्छ ।
गत फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–१ की इनिशा विद्यालय जाने भन्दै घरबाट निस्किएकी थिइन् । सोही दिन वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा उनी अचेत अवस्थामा फेला परेको प्रहरीले जनाएको थियो । प्रहरीले उद्दार गरी कर्णाली प्रदेश अस्पताल पु¥याए पनि चिकित्सकले इनिसालाई मृत घोषणा गरेका थियो ।
घटनापछि प्रहरीले एक १६ वर्षीय किशोरलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । प्रारम्भिक बयानमा आरोपित किशोरले इनिशासँग शारीरिक सम्पर्कपछि अत्यधिक रक्तस्राव भएर ईनिसा अचेत भएको बताएका थिए ।

