‘ई–पेन्सन’ सेवाले अब जिल्लाबाटै पेन्सन पट्टा बनाउन मिल्ने


काठमाडौं । अब राजीनामा दिने वा अनिवार्य अवकाशमा जाने कर्मचारीहरु निवृत्तिभरण (पेन्सन) र उपदानका लागि किताबखानाको कार्यालय पुग्नुपर्ने बाध्यता हटेको छ ।
निजामती सेवाबाट निवृत्त हुने कर्मचारीहरुका लागि पेन्सन पट्टा बनाउन र अन्य सुविधा लिन काठमाडौं स्थित निजामती किताबखाना धाउनुपर्ने झन्झटिलो परम्परागत व्यवस्थाको अहिले अन्त्य भएको हो । राष्ट्रिय किताबखानाले अवकाश प्राप्त कर्मचारीहरूका लागि ‘एकीकृत डिजिटल निवृत्तभरण’ (पेन्सन) सेवा सुरु गरेको छ ।
‘ई–पेन्सन’ सेवा अब आफ्नै जिल्लाबाटै पेन्सन पट्टा बनाउन मिल्ने भएपछि निजामती सेवाबाट निवृत्त हुने कर्मचारीहरुका लागि सहज हुने अपेक्षा राखिएको छ । किताबखानाले गत १२ पुसमा मात्रै डिजिटल निवृत्तिभरण (पेन्सन) सेवाको सफल परीक्षण सम्पन्न गरेको थियो ।
औपचारिक रुपमा सेवा सञ्चालनमा आएसँगै अब ७७ वटै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयलाई सहजकर्ताको रुपमा यो प्रणालीमा पहुँच दिइएको किताबखानाका निर्देशक तथा सूचना अधिकारी शोभाकर पाण्डेयले जानकारी दिए । उनका अनुसार कर्मचारीले सम्बन्धित जिल्लाबाटै अनलाइन आवेदन दिन सक्ने र किताबखानाले विवरण प्रमाणीकरण गरेपछि जिल्लाबाटै सेवा सुनिश्चित हुने प्रक्रिया शुरु भएको छ ।
राष्ट्रिय कर्मचारी कितावखाना ,निजामती किताबखानाले ‘ई–पेन्सन’ प्रणालीलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउँदै सेवालाई विकेन्द्रित गरेपछि अब कर्मचारीहरुले आफ्नै जिल्लाबाट सबै प्रक्रिया पूरा गर्न सक्ने भएका हुन् ।
विभागका महानिर्देशक श्रवण कुमार पोखरेलका अनुसार राजीनामा दिएका वा अनिवार्य अवकाश प्राप्त गरेका कर्मचारीहरूले अब काठमाडौं आउनुको सट्टा जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मार्फत नै आफ्नो सेवा निवृत्तिका कागजातहरू तयार पार्न सक्ने व्यवस्था मिलाइएको छ।
यस किसिमका डिजिटल रुपान्तरणले कर्मचारीहरुको समय र आर्थिक भार कम गर्ने मात्र नभई सरकारी सेवालाई प्रविधिमैत्री र पारदर्शी समेत बनाएको छ । ‘ई–पेन्सन’ सेवाको प्राविधिक प्रक्रिया अत्यन्तै व्यवस्थित र सुरक्षित बनाइएको छ । प्रक्रियाको सुरुवातमा जिल्लास्थित कोलेनिकालाई विभागको अनलाइन पेन्सन प्रणाली मा की एक्सेसु अर्थात् विशेष डिजिटल पहुँच प्रदान गरिन्छ ।

निवृत्त कर्मचारीले आवश्यक कागजातसहित कोलेनिकामा सम्पर्क गरेपछि त्यहाँका कर्मचारीले उक्त प्रणालीको आधा भाग प्रयोग गरी कर्मचारीको व्यक्तिगत विवरण अपडेट गरिदिन्छन् । यस क्रममा कर्मचारीको सेवा अवधि, अवकाशको प्रकृति र अन्य आवश्यक डकुमेन्टहरू स्क्यान गरी प्रणालीमा अपलोड गरिन्छ ।
यसरी जिल्लाबाट अपलोड गरिएका सम्पूर्ण विवरणहरु तत्काले काठमाडौं स्थित निजामती किताबखानाका कर्मचारीको कम्प्युटर स्क्रिनमा देखिने व्यवस्था मिलाइएको छ । विभागका कर्मचारीले अनलाइनबाटै ती कागजातहरु विभागको आधिकारिक रेकर्डसँग भिडान गरी रुजु गर्दछन् ।
यदि विवरणमा कुनै त्रुटि देखिएमा तुरुन्तै सम्पर्क गरी सच्याइन्छ भने विवरण मिलेको खण्डमा विभागले डिजिटल सिल र डिजिटल हस्ताक्षर प्रयोग गरी अनलाइनबाटै स्वीकृत गरिदिन्छ । विभागबाट डिजिटल रुपमा स्वीकृत भइसकेपछि उक्त फाइल पुनः प्रणालीमार्फत कोलेनिकामा नै फिर्ता पठाइन्छ ।
कोलेनिकाले उक्त स्वीकृत फाइललाई प्रिन्ट गरेर निवृत्त कर्मचारीको हातमा थमाइदिन्छ, जसका आधारमा कर्मचारीले आफ्नो कार्यालयबाट सञ्चित घर बिदा, बिरामी बिदा र औषधि उपचार बापतको रकम भुक्तानी लिन सक्छन् । यसका साथै, पेन्सन खाता खोल्नका लागि बैंक धाउनुपर्ने र पत्र बोक्नुपर्ने झन्झटलाई समेत डिजिटल प्रणालीले सम्बोधन गरेको छ ।
पेन्सन कार्यालयले कर्मचारीले रोजेको बैंकमा खाता खोल्नका लागि आवश्यक डिजिटल पत्र प्रणालीबाटै सिधै बैंकको सर्भरमा पठाइदिने व्यवस्था गरेको छ । यसले गर्दा कर्मचारी बैंक पुग्दा उनको विवरण पहिले नै त्यहाँ पुगिसकेको हुन्छ । आगामी दिनमा कर्मचारीको परिचय पत्र समेत ुनागरिक एपमा नै देखिने गरी प्राविधिक तयारी भइरहेको छ ।
यस प्रणालीको अर्को महत्त्वपूर्ण र लचिलो पक्ष भनेको ‘अन डिमाण्ड’ सेवा हो । यदि कुनै कार्यालयका प्रमुखले आफ्नै कार्यालयबाट निवृत्त हुन लागेका कर्मचारीलाई यो सेवा दिन चाहेमा विभागले विशेष अनुरोधका आधारमा एक पटकका लागि प्रणालीको पहुँच उपलब्ध गराउँछ । यस्तो अवस्थामा कर्मचारीले कोलेनिका समेत जानु पर्दैन र आफ्नै कार्यस्थलबाटै पेन्सनका सम्पूर्ण प्रक्रियाहरु पूरा गर्न सक्छन् ।
यसका लागि सम्बन्धित कार्यालय प्रमुखमा सेवामैत्री र प्रविधिमैत्री भावना हुनुपर्ने विभागको भनाइ छ । समग्रमा, ई–पेन्सन प्रणालीले भौतिक उपस्थिति विना नै कागजातको प्रमाणीकरण, डिजिटल हस्ताक्षरको प्रयोग र बैंकिङ समन्वयलाई एउटै प्लेटफर्ममा जोडेर निजामती सेवाको अवकाश प्रक्रियालाई पूर्ण रुपमा डिजिटल युगमा प्रवेश गराएको हो ।

