जाजरकोट प्रहरीद्वारा ४५ रोपनी अबैध लागु औषध अफिम खेती नष्ट

अनिता विक/ खलंगा (जाजरकोट) ।  ठूलो क्षेत्रफलमा अबैध रुपमा लगाइएको अफिम खेती जाजरकोट प्रहरीले नष्ट गरेको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको अवैध अफिम खेती नष्ट गर्ने सम्बन्धी जिल्ला सुरक्षा समिति जाजरकोटको निर्णय अनुसार जिल्ला प्रमुख अधिकारी राजुप्रसाद पौडेलको नेतृत्वमा अन्य सुरक्षा निकायका प्रमुखसँगै स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले अबैध अफिम खेती नष्ट गरेको हो ।

प्रहरीले भेरी नगरपालिका–१, स्थित मैदे, मैदेचौर, घुईलनेटा र स्याँला स्थित करिब ४५ रोपनी क्षेत्रफलमा लगाईएको अवैध लागु औषध (अफिम) खेती नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा खटिएको २० जना प्रहरी टोलीसँगै नलगाड नगरपालिका–१, भरकट्टिया र गैरीखर्कमा करिब १५ रोपनी क्षेत्रफलमा लगाईएको अवैध लागु औषध (अफिम) नष्ट गरेको हो ।

प्रहरीका अनुसार नियमित गस्ती तथा निगरानीका क्रममा उक्त अफिम खेती पत्ता लागेको थियो । लागूऔषध उत्पादन तथा कारोबार नियन्त्रण गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ । प्रहरीले अवैध खेती गर्ने व्यक्तिहरुको पहिचान गर्ने प्रयास भइरहेको र लागूऔषध सम्बन्धी कसुरमा संलग्नलाई कानुनी दायरामा ल्याइने बताएको छ ।

प्रहरीले जाजरकोटमा अवैध लागु औषधजन्य बालीविरुद्धको अभियान अन्तर्गत अफिम खेती नष्ट गरेको जनाएको छ । विगतका वर्षमा पनि त्यस क्षेत्रमा प्रहरीले अफिमका बोट नष्ट गरेको थियो । उक्त क्षेत्रमा खेती गर्ने किसान र सघाउने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Translate »