पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भई अहिले पश्चिम नेपालबाट वर्षा सुरु भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लागेको छ भने बाँकी भूभागमा साधारणतया बादल लागेको छ । अहिले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

विभागका मौसमविद् रोजन लामिछानेले वर्षा दिउँसो बढ्ने र कुनैकुनै ठाउँमा भारीसम्म वर्षा र हिमपात हुने जानकारी दिए । विभागका अनुसार अछाममा ८.६, सुर्खेतमा ७.६, डडेलधुरामा ५.२, रोल्पामा ८.२, प्युठानमा ५.२, चितवनमा ४.२ मिलीमिटर वर्षा भइसकेको छ ।

यस्तै कालीकोट, डोटी, रुकुम, रोल्पा, म्याग्दी बाग्लुङ, दाङ, अर्घाखाँचीलगायतका जिल्लामा पनि हल्का वर्षा भएको छ । वर्षा पूर्वतर्फ सर्ने क्रममा रहेको जनाइएको छ । आजै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एकदुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । रासस

Translate »