एमाले अध्यक्ष ओली र नेपाली काँग्रेसका नेता लेखक हाजिर जमानीमा रिहा


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकलाई प्रहरीले रिहा गरेको छ ।
जेन्जी आन्दोलनमा बल प्रयोग गरेको भन्दै गौरीबहादुर कार्की आयोगको सिफारिस कार्यान्वयन गर्नेक्रममा पक्राउ परेका दुवै नेतालाई अनुसन्धान प्रक्रिया जारी रहने सर्तमा नियन्त्रणमुक्त गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार पूर्वप्रधानमन्त्री ओलीलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको छ भने लेखकलाइ उनकी धर्मपत्नी यशोदा लेखकको जिम्मा लगाइएको छ ।

पूर्वप्रधानमन्त्री ओली जटिल स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । अब उनको स्वास्थ्य अवस्थाका आधारमा थप निर्णय चिकित्सकले गर्ने जनाइएको छ । ओलीलाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा चैत १४ गते भक्तपुरस्थित गुण्डु निवासबाट पक्राउ गरिएको थियो ।
त्यसपछि उनकी पत्नी राधिका शाक्यले गैरकानूनी हिरासतको आरोप लगाउँदै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन् । अदालतले चैत २६ भित्र अनसन्धान टुंग्याउन आदेश दिँदै नसकिए शर्तसहित रिहा गर्न निर्देशन दिएको थियो ।
यही प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेको १३ औं दिनमा रिहा भएका छन् । उनलाई नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट उनकी पत्नी यशोदा लेखकको जिम्मा लगाइएको हो ।
प्रहरीका अनुसार लेखकलाई आवश्यक पर्दा अनुसन्धानमा उपस्थित हुने सर्तमा हिरासतबाट मुक्त गरिएको हो । भदौ २३ र २४ गतेका घटनाबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि उनलाई भक्तपुरबाट पक्राउ गरिएको थियो ।

