२०८३ असोज ७ , बुधबार
Sky News Nepal
September 23, 2026

ठूला विद्युतीय सवारीसाधन खरीदमा मूल्यको ८० प्रतिशतसम्म कर्जा



काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक यातायातका रुपमा सञ्चालन हुने ठूला विद्युतीय यात्रुवाहक सवारीसाधन खरीदका लागि कर्जा प्रवाह गर्दा ऋण–मूल्य अनुपात अधिकतम ८० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले निर्देशन जारी गरेर यस्ता सवारीसाधन खरीद गर्दा बैंक तथा वित्तीय संस्थाले सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउन सक्ने व्यवस्था गरेको हो । यस्ता सवारीसाधन क्रेताले कम्तिमा २० प्रतिशत रकम आफ्नै स्रोतबाट तिर्नुपर्छ ।

यसअघि आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा केन्द्रीय बैकले सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधनको कर्जा–मूल्य अनुपात सहजीकरण हुनेगरी विशेष नीतिगत व्यवस्था गरिने जनाएको थियो ।

यसअघि सबैखाले विद्युतीय सवारीसाधन किन्दा यो अनुपात ६० प्रतिशत थियो । व्यक्तिगत तवरमा प्रयोग हुने विद्युतीय सवारीसाधन खरीदमा भने ६० प्रतिशतको कर्जा मूल्य अनुपात कायमै छ ।

यसैगरी, जेनजी आन्दोलनबाट प्रत्यक्ष रुपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानका व्यावसायिक प्रयोजनमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई तिनको प्रतिस्थापन गर्नुपर्ने अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाले ८० प्रतिशतसम्म ऋण–मूल्य अनुपात कायम गरी कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ ।

यस व्यवस्थाले सार्वजनिक विद्युतीय यातायातको विस्तारलाई प्रोत्साहन गर्नुका साथै आन्दोलनका कारण क्षति बेहोरेका व्यवसायीलाई सवारी प्रतिस्थापनका लागि आवश्यक वित्तीय सहुलियत उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ साउन ४ गते सोमबार
Translate »