२०८३ साउन २८ , बिहीबार
Sky News Nepal
August 14, 2026

अमरज्योती माविमा ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ सचेतना तथा वृत्तचित्र प्रदर्शनी



सुर्खेत । नेपालबाट बोक्सी कुप्रथा उन्मूलन महाअभियान अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर स्थित अमरज्योती नमूना माध्यमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम गरिएको छ ।

बोक्सी कुप्रथाको नाममा हुने हिंसा, विभेद र मानवअधिकार उल्लंघन अन्त्य गर्ने उद्देश्यले ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले विहीबार उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा अझैपनि समाजका छेउछाऊमा जडा गाडेर बसेको अन्धविश्वास, कुप्रथा तथा सामाजिक विभेद अन्त्य गर्न शिक्षा, जनचेतनासँगै कानुनी कार्यान्वयन पक्षलाई प्रभावकारी बनाईनुपर्ने औल्याईएको छ ।

जनचेतनामूलक कार्यक्रम तथा वृत्तचित्र प्रदर्शनी पछि सहभागी विद्यार्थी तथा शिक्षकले बोक्सीको आरोपबाट पीडित घटनास्थलहरुमा शिक्षा एवं चेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । उनीहरुले बोक्सीको आरोप लगाउने कार्य मानवअधिकारविरुद्धको अमानवीय व्यवहार भएकाले यस्ता घटनाको अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।

बोक्सीसम्बन्धी अन्धविश्वास अन्त्य गर्दै मानवअधिकार, सामाजिक न्याय र समानताको प्रवद्र्धन गर्न सबैको साझा प्रयास अपरिहार्य रहेको उनीहरुको भनाइ थियो । सुर्खेतमा हालै घटेको पाथिभरा माता काण्डलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमै पुगेर शिक्षा, चेतना तथा वृत्तचित्र प्रदर्शन कार्यक्रम थप विस्तार गर्न आयोजकलाई उनीहरुले सुझाव दिएका थिए ।

कार्यक्रममा अमरज्योति माविका ११ र १२ कक्षाका करिब २ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो । पाथिभरा माता नाम गरेको धामीझाँक्रीको कारण सुर्खेतमा उत्पन्न परिस्थितिलाई शिक्षासँगै सचेतनामूलक कार्यक्रम सामाजिक अभियन्ता तथा अछुत चलचित्रका लेखक निर्माता निर्देशक बालकृष्ण सुनारले सञ्चालन गरेका थिए ।

कार्यक्रममा ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका अध्यक्ष तथा अभियन्ता कोविदशरण उपाध्यायले कानुनी व्यवस्था भएपनि नेपालमा बोक्सी आरोपका घटना पूर्णरुपमा अन्त्य हुन नसकेको बताए । उनले वैज्ञानिक सोच, शिक्षा र जनचेतनामार्फत मात्रै यस्तो कुप्रथाको अन्त्य गर्न सकिने जनाए ।

अन्धविश्वास र कुसंस्कारका कारण अझैपनि महिलामाथि अमानवीय व्यवहार हुँदै आएको बताउँदै उनले यस्ता घटनाको अन्त्यका लागि राज्य, समाज र नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको औल्याए । ‘ग्रामीण क्षेत्रसँगै सहरमा समेत अज्ञानता, अन्धविश्वास, गरिबी र सामाजिक विभेदका कारण महिलाहरु अझैपनि यस्तो हिंसाको सिकार भइरहेका छन,’ उनले भने, ‘बोक्सीका घटनाले पीडित र परिवारमाथि गम्भिर सामाजिक तथा मानसिक असर पर्ने भएकाले सचेतना फैलाउन समाजका सबै तहका नागरिकको सक्रिय सहभागिता आवश्यक हुन्छ ।’

उनले देशका विभिन्न स्थानमा बोक्सीको आरोपबाट पीडित समुदायमा शिक्षा, सचेतना र अधिकारसम्बन्धी अभियान ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ राष्ट्रिय जागरण प्रतिष्ठानले सञ्चालन गर्दै आएको जानकारी दिए । तथ्यांकले बोक्सी आरोपका अधिकांश पीडित महिला रहेको तथा अन्धविश्वास, सामाजिक विभेद र कमजोर कानुनी कार्यान्वयनका कारण यस्ता घटना अझै दोहोरिने गरेको देखाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २८ गते बिहीबार
Translate »