२०८३ साउन ३० , शनिबार
Sky News Nepal
August 16, 2026

कर्णाली र सुदूरपश्चिमबाट हराउँदै रैथाने बाली



सुर्खेत । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा परम्परागत रुपमा लगाइँदै आएका कागुनो, झुमरो, मार्से र फापर जस्ता अन्नबाली अहिले लोप हुने अवस्थामा पुगेका छन् ।

औषधीयगुण र अग्र्यानिक खानाका रुपमा देशभरका ठूला सहरहरुमा माग उच्च भएपनि उत्पादन भने लगातार घट्दै गएको छ । नेपालमा कोदो, फापर, जौ, चिनो, कागुनो र जुनेलो जस्ता पौष्टिक रैथाने बालीहरु आधुनिक कृषि प्रणाली, आयातित बीउको प्रयोग, युवा पुस्ताको विदेश पलायन तथा खेतीप्रति घट्दो रुचिका कारण संकटमा परेको हो ।

त्यसबाट अहिले स्थानीय खाद्य सुरक्षा र कृषि जैविक विविधतामा गम्भीर असर पु¥याएको छ । उन्नत र आयातित बीउको अत्यधिक प्रयोगले रैथाने जातहरु विस्थापित हुँदै गएका छन् । लगानीअनुसारको उचित मूल्य नपाउँदा किसानहरुले खेतीयोग्य जमिनसमेत बाँझो छाड्न थालेका हुन् ।

अहिले गाउँघरमा जनशक्ति घट्नु र परम्परागत खेतीलाई हेर्ने दृष्टिकोण बदलिनाले यो पेसा खुम्चिँदै गएको हो । अर्कोतर्फ उचित प्रशोधन, ब्रान्डिङ र बजार प्रवद्र्धन नहुनु पनि अर्को कारण रहेको छ ।

संकटमा रैथाने

प्रदेश सरकार र स्थानीय तहले रैथाने बाली संरक्षण कार्यक्रम ल्याए पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा आयातित बीउको भरमा किसान बस्नुपर्ने बाध्यता रहेको छ ।

आयातित र विकासे बीउले छिटो र धेरै उत्पादन दिने भन्दै किसानले नै रैथाने बीउ बिजनको प्रयोग गर्न छाडेपछि रैथाने बाली खाद्यान्न, फलफूल, तरकारी तथा दलहनका परम्परागत बीउ लोप हुँदै गएका हुन् ।

धान, मकै, कोदोजस्ता खाद्यान्न बालीको पनि रैथाने उत्पादन घट्दै गएको किसानले बताएका छन् । डुगेश्वर गाउँपालिका–२ का किसान मनकुमारी थापाले रैथाने बालीको बीउ पाउन मुस्किल हुने गरेका कारण एग्रोभेटबाट बीउबिजन ल्याएर लगाउन थालिएको बताईन् ।

उनले विगतमा रैथाने बाली लगाउने त्यसमा जैविक मलको प्रयोग गर्ने र आम्दानी पनि पर्याप्त हुने जग्गामा आजभोलि उत्पादन हुन छाडेको जनाईन् ।

रैथाने स्रोतको संरक्षण

कुनै समय बाजुराका प्रायः प्रत्येक गाउँमा प्रशस्त मात्रामा उत्पादन हुने कागुनो, झुमरो र मार्से अहिले फाटफुट बाहेक देखिन छाडेको छ । त्यस्तै, जिल्लाका हिमाली भेगमा लगाइने फापर, चिनो र उवा समेत बिस्तारै हराउँदै गएको स्थानीय बासिन्दा बताउँछन् ।

उत्पादन घटेसँगै बजारमा अभाव बढ्दा अहिले जिल्लामै यी अन्नबाली पाउन मुस्किल हुन थालेको हो । बडिमालिका नगरपालिका–५,का किसान कविराज साउदका अनुसार पहिले गाउँमै ठेकेदारहरु आएर यी अन्नबाली खरिद गर्ने गरेका थिए ।

‘अहिले उत्पादन नै नभएपछि बेच्न त परै जाओस्, आफ्नै लागि समेत पुग्न छाडेको छ,’ उनले भने । परम्परागत खेती प्रणालीबाट जीविकोपार्जन गर्न कठिन हुँदै जाँदा धेरै कृषकले यस्ता अन्नबाली लगाउनै छाडेका छन् । कृषि ज्ञान केन्द्र बाजुराका निमित्त प्रमुख प्रेम न्यौपानेका अनुसार कागुनो, झुमरो, फापर र चिनु जस्ता परम्परागत अन्नबालीको बजार माग उच्च रहे पनि उत्पादन घट्दै जाँदा लोप हुने जोखिम बढेको छ ।

‘परम्परागत खेती जोगाउन अनुदानका कार्यक्रम सञ्चालन गरिए पनि कृषकको आकर्षण बढाउन सकेका छैनौं,’ उनले भने । उत्पादन वृद्धि र संरक्षणका लागि थप प्रभावकारी कार्यक्रम ल्याउने तयारीमा कृषि ज्ञान केन्द्र बाजुरा रहेको उनको भनाइ छ ।

उत्पादनको विविधिकरण

कृषि विज्ञका अनुसार यी अन्नबाली पोषणयुक्त, औषधीय गुणले भरिपूर्ण र जलवायु अनुकूल खेतीका रुपमा चिनिन्छन् । तर युवा पुस्ताको खेतीप्रति घट्दो रुचि, वैकल्पिक आम्दानीका साधनको अभाव र सरकारी सहयोग प्रभावकारी नहुनुका कारण उत्पादन घट्दै गएको हो ।

रैथाने बालीको संरक्षण र प्रवद्र्धनका लागि समयमै ठोस कदम नचाले परम्परागत खेती प्रणाली इतिहास मात्र बन्ने खतरा बढेको विज्ञ बताउँछन् । कोदो, फापर जस्ता अन्नबाट विभिन्न परिकार बनाउने उद्योग तथा स्थानीय मदिरालाई मापदण्ड अनुसार ब्रान्डिङ गरी बजार विस्तार गर्ने योजना बनाईनु पर्छ ।

कृषकलाई प्रोत्साहन गर्न विशेष अनुदान, प्राविधिक सहयोग र खरिदको निश्चितता गरि रैथाने बालीको पोषण तथा औषधीय महत्वबारे प्रचारप्रसार गर्न अब ढिला गर्नु हुँदैन् । रैथाने बालीको संरक्षणसँगै उत्पादन, प्रशोधन, बजारीकरण र ब्रान्डिङमा राज्यले लगानी गर्न सके बाझिँदै गएका खेतमा फेरि खेती फर्काउन सकिने सम्भावना देखिएको छ ।

यसका लागि कोदोलाई केवल परम्परागत खाद्यान्नकारुपमा नभई स्थानीय अर्थतन्त्र र रोजगारी सिर्जनाको आधारका रुपमा विकास गर्नुपर्ने अगुवा किसानहरुको माग छ ।

प्रकाशित मिति : २०८३ साउन ३० गते शनिबार
Translate »