२०८३ भदौ १७ , बुधबार
Sky News Nepal
September 2, 2026

इनिशा विक मृत्यु प्रकरणका आरोपित ३ बालकलाई अभिभावकको जिम्मा लगाउन सर्वोच्चको आदेश



सुर्खेत । सर्वोच्च अदालतले सुर्खेतकी इनिसा विकको बलात्कारपछि हत्या भनिएको प्रकरणमा कानुनी विवादमा परेका तीन बालकलाई थुनामुक्त गर्न आदेश दिएको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले परिवर्तित नाम वीरेन्द्रनगर (घ), वीरेन्द्रनगर (फ) र वीरेन्द्रनगर (न) का हकमा यसअघि भएका थुनछेकसम्बन्धी आदेश बदर गर्दै अभिभावकको जिम्मा लगाउन आदेश दिएको हो । अर्का आरोपित परिवर्तित नाम वीरेन्द्रनगर (प) को हकमा भने कुनै आदेश भएको छैन ।

यसअघि तीनै जना बालकलाई बाल सुधार गृहमा राख्ने सुर्खेत जिल्ला अदालत र उच्च अदालत सुर्खेतको आदेश विरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको थियो । बालक माथि अन्यायपूर्ण तरिकाले फसाईएको भन्दै उनीहरुका अभिभावक तल्लो अदालतका आदेशविरुद्ध पुनरावेदन लिएर सर्वोच्च पुगेका थिए ।

सर्वोच्चले तल्लो अदालतका आदेश बदर गर्दै बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा २४ को उपदफा (२) को खण्ड (ख) बमोजिम पुर्पक्षका लागि बालसुधार गृहमा नै राख्नु पर्ने अवस्था विद्यमान नरहेको सर्वोच्चको आदेशमा उल्लेख छ । सर्वोच्चको आदेशमा मुद्दाको अनुसन्धानका क्रममा प्राप्त कागजात, सीसीटीभी फुटेज तथा अन्य प्रमाण अध्ययन गरिएको उल्लेख छ ।

अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले एक आरोपित बालक र निवेदकहरुबीच भएको फोन संवाद, घटनास्थलमा पुगेको समय तथा ट्राफिक कार्यालयमा रहेको सीसीटीभी फुटेजलगायत प्रमाणको विश्लेषण गरेको आदेशमा उल्लेख छ ।

अदालतले बालबालिकासम्बन्धी ऐनअनुसार बालकहरुलाई उनीहरूका बाबु, आमा वा परिवारका जिम्मेवार व्यक्तिको जिम्मा लगाई मुद्दाको कारबाही अघि बढाउन भनेको छ । तर, मुद्दा किनारा नलागुञ्जेल अदालतले खोजेका बखत अनिवार्य रूपमा उपस्थित गराउनुपर्ने र अदालतको पूर्वअनुमति नलिई देशबाहिर जान नपाउने सर्तसमेत तोकिएको छ ।

२०८२ फागुन २३ गते बिहान ६ बजे नै ट्युसन जाने भन्दै घरबाट निस्किएकी गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी इनिसा बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । ‎प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्‍याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रकाशित मिति : २०८३ भदौ १७ गते बुधबार
Translate »