२०८३ भदौ १९ , शुक्रबार
Sky News Nepal
September 4, 2026

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा अपेन कर्णालीद्वारा दीप प्रज्वलन



सुर्खेत । एशोसियशन अफ प्रिस्कुल एजुकेटर्स नेपाल (अपेन) कर्णाली प्रदेशले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन तथा सामूहिक प्रार्थना गरेको छ । अपेन कर्णालीले विहीबार साँझ ७ बजे सुर्खेतको वीरेन्द्रचोकमा भोटेकोशी बाढीका कारण ज्यान गुमाएका सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको हो ।

साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभ तथा विपद्मा परेका नागरिकको सकुशल उद्दार तथा सुरक्षित जीवनका लागि प्रार्थना गरिएको कर्णाली प्रदेश अध्यक्ष प्रतिमा मल्लले बताईन् ।उनले प्राकृतिक विपद्को यो कठिन घडीमा धर्म, जात, भाषा, क्षेत्र र सबै विचारभन्दा माथि उठेर मानवता, करुणा, सहकार्य र राष्ट्रिय एकताको भावना सुदृढ गर्नुपर्नेमा जोड दिईन् ।

बाढी तथा विपद्का कारण ज्यान गुमाएका दिवंगत आत्माहरुको चिरशान्तिको कामना, शोकसन्तप्त परिवारजनप्रति ऐक्यबद्धता तथा विपद्मा परेका नागरिकको सुरक्षित जीवन र शीघ्र उद्दारको कामना गर्नु नै दीप प्रज्वलन तथा सामूहिक प्रार्थनाको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २०८३ भदौ १९ गते शुक्रबार
Translate »