

कालिकोट । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका भएर बग्ने शान्तिघाट खोलामा पानीको बहाव बढेपछि खोला किनारका स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ ।
गएराती आएको वर्षाका कारण खोलाको मुहानमा पहिरो खसेको थियो । उक्त पहिरोले थुनेको ताल एक्कासी फुटेपछि खोलामा बाढी आएको हो । तर अहिले त्यहाँको स्थिति सामान्य बन्दै गईरहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिए ।
उनले शान्तिघाट खोलामा पानीको बहाब बढेपछि खोला किनारका नागरिकलाई माइकिङ गरेर सचेत गराइको बताए । उनका अनुसार अहिलेसम्म कुनैपनि मानविय क्षति भएको छैन् ।
पानी परेपछि सचेत गराउँदै नआत्तिन स्थानीयलाई आवश्यक सुझाव दिईएको उनको भनाइ छ । शान्तिघाट खोला मुम्राबाट करिब २ सय मिटर तल पुगेर कर्णाली नदीमा मिसिएको छ ।
पहिरोले जलविद्युत् आयोजनामा क्षति

पोतमारा जलविद्युत् आयोजनामा बाढीसहितको पहिरोले क्षति पु¥याएको छ । सान्नीत्रिवेणी गाउँपालिका–७, स्थित पाँच सय किलोवाट क्षमताको पोतमारा साना जलविद्युत् आयोजना पुनर्निर्माण सम्पन्न नहुँदै फेरि इन्टेक र बाँधमा क्षति पुगेको हो ।
गएराती वर्षापछि आएको बाढीसहितको पहिरोका कारण जलविद्युत् आयोजनाको इन्टेक र बाँधमा क्षति पुगेको नेपाल विद्युत प्राधिकरण कालिकोटले जनाएको छ ।
प्राधिकरण कालिकोट वितरण केन्द्रका प्रमुख हरेन्द्र राय यादवका अनुसार लामो समयको प्रयासपछि आयोजनाको काम अन्तिम चरणमा पुगेपनि गएराती आएको बाढीले फेरि आयोजनाको इन्टेकमा क्षति पु¥याएको छ ।
यद्यपि ! कालिकोट विद्युतको राष्ट्रिय प्रसारणलाइनमा जोडिए पनि वैकल्पिक व्यवस्था गर्न उक्त आयोजना आवश्यक पर्ने भएकाले पुनःसञ्चालनका लागि विद्युत प्राधिकरणले ठेक्का प्रक्रिया अगाडि बढाएर मर्मतको काम गरिरहेको थियो ।
गएराती आएको बाढीले क्षति पु¥याएपछि अब थप समय अरु लाग्ने उनको भनाइ छ ।











