

कालिकोट । कालिकोटको गगनेखोलामा आइतबार साँझ गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
अविरल वर्षापछि गगनेखोलामा पहिरो जाँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो । आवागमन नियमित सञ्चालन गराउनका लागि सडक डिभिजन कार्यालय जुम्लाबाट उपकरण तथा प्राविधिक टोलीले पहिरो हटाउन शुरु गरेपनि बिच–बिच भईरहेको वर्षाले समस्या भईरहेको छ ।

अवरुद्ध राजमार्गलाई खुलाउनका लागि निरन्तर प्रयास भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले जानकारी दिए । उनले पहिरोका कारण गगनेखोलामा करिब सात मिटरसम्म सडक भासिएको बताए ।
कार्यालयले वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रातिको समयमा यात्रा नगर्न सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।
पहिरोले सडक अबरुद्ध भएपछि सुर्खेतबाट आएका गाडी खिड्की ज्युला, दैखोलामा रोकिएका छन् भने माथिबाट सुर्खेतका लागि हिँडेका गाडी मान्म, हुल्म, खुलालुमा रोकिएका छन् ।











