२०८३ भदौ २५ , बिहीबार
Sky News Nepal
September 10, 2026

नेपाल चिकित्सक संघ सुर्खेतद्वारा भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरुको सम्मानमा दीप प्रज्वलन



सुर्खेत । नेपाल चिकित्सक संघ सुर्खेतले रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेहरुको सम्मानमा दीप प्रज्वलन गरेको छ ।

संघले सोमबार साँझ सुर्खेतको वीरेन्द्रचोकमा भोटेकोशी बाढीका कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरेको हो । शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभ तथा विपद्मा परेका नागरिकको सकुशल उद्दार तथा सुरक्षित जीवनका लागि प्रार्थना गरिएको संघका अध्यक्ष डाक्टर खेचरनाथ पौडेल उर्फ केएन पौडेलले बताए ।

उनले बाढीबाट प्रभावित, घाइते तथा विस्थापितहरुको शीघ्र उद्दार, उपचार र सुरक्षित पुर्नस्थापनाको कामना गर्दै यस कठिन घडीमा प्रभावित समुदायसँग नेपाल चिकित्सक संघ सुर्खेत परिवारको ऐक्यबद्ध रहेको जनाए ।

उनका अनुसार विपद्का समयमा संघको सुर्खेत शाखामा आवद्ध पदाधिकारी तथा सदस्यहरुको संयुक्त योगदानबाट प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा पहिलो चरणमा ३ लाख १४ हजार ७ सय ५४ रुपैयाँ सहयोग गरिएको छ ।

दीप प्रज्वलन कार्यक्रममा नेपाल नर्सिङ संघ, प्रदेश अस्पतालका प्रतिनिधिहरू तथा अस्पतालका पूर्व निर्देशक डाक्टर डम्बर खड्कालगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८३ भदौ २३ गते मंगलबार
Translate »