

सुर्खेत । सुर्खेत कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् ।
कैदीबन्दीले आर्थिक सङ्कलन तथा श्रमदान गरी प्रभावित परिवारलाई ६४ हजार १ सय ५ रुपैयाँ सहयोग गरेका हुन् । आफैंले स्वस्फूर्त रुपमा संकलन गरेको उक्त रकम कारागार प्रशासक (जेलर) लक्ष्मी खरेल, सूचना अधिकारी भुवन गौतम मार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो ।

रसुवा तथा आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पीडित भएका परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस भन्ने उद्देश्य उक्त सहयोग गरिएको कैदीबन्दीले बताएका छन् ।
हाल सुर्खेत कारागारमा ४ सय १२ जना कैदीबन्दी रहेका छन् । उनीहरुले दैनिक ८० रुपैया र ७ सय ग्राम चामल पाउँछन् । त्यही गाँस काटेर उनीहरुले बाढीपीडितलाई सहयोग गरेका हुन् ।
प्रकाशित मिति : २०८३ भदौ २४ गते बुधबार











