कोहलपुरमा अन्डर १९ महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिता हुँदै


बाँके । बाँकेको कोहलपुरको क्रिकेट मैदानमा यही माघ २७ गतेदेखि फाल्गुन ३ गतेसम्म सुशील कोइराला मेमोरियल अन्डर १९ महिला राष्ट्रिय टि २० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । कोहलपुर नगरपालिकाको आयोजना र कोहलपुर नगर खेलकुद बिकास समितिको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आर्चायले प्रतियोगिता महिला क्रिकेटको लागी कोसेढुंगा साबित हुने बताए । क्रिकेटका पूर्व राष्ट्रिय कप्तान एल बी क्षेत्रीले कोहलपुरमा यो प्रतियोगिताले महिला क्रिकेट खेलाडीको लागी पुनर्जन्म दिएको जिकिर गरे ।

यू–१९ राष्ट्रिय महिला क्रिकेटमा बागमती प्रदेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित आयोजक कोहलपुर ११ टिमले प्रतिस्पर्धा गर्नेछन् । देशभरिका पाँच प्रदेशका ५ वटा टिमहरूवीच ११ वटा खेल प्रतियोगिता हुने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख र द्धितिय हुनेलाई ५० हजारसहित ट्रफिको समेत व्यवस्था गरिएको छ । विभिन्न जिल्लाबाट आउने खेलाडीहरूको आवास र खानपिनको व्यवस्था आयोजकले गर्ने बताइएको छ । प्रतियोगिताका खेलहरू कोहलपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ ।

