२०८३ कात्तिक २२ , शनिबार
Sky News Nepal
November 8, 2026

जाजरकोट भूकम्पः रुकुमपश्चिममा ३१ हजारले पाए पहिलो किस्ता



रुकुम पश्चिम । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुमपश्चिममा हालसम्म ३० हजार आठ सय ३१ लाभग्राहीले पहिलो किस्ता बापतको रकम प्राप्त गरेका छन् ।

अस्थायी आवास निर्माण गर्न जिल्लाका छवटै पालिकाका ३० हजार आठ सय ३१ लाभग्राहीले पहिलो किस्ताबापत २५ हजारका दरले रकम प्राप्त गरेका हुन् । सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार सात सय ३२ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा एक हजार छ सय ६० लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।

उहाँका अनुसार सानीभेरी गाउँपालिकामा पाँच हजार आठ सय चार, त्रिवेणी गाउँपालिकामा लाभग्राही कायम भएका तीन हजार सात सय ४७, चौरजहारी नगरपालिकामा छ हजार दुई सय ६९ र बाँफीकोट गाउँपालिकामा दुई हजार छ सय ४१ लाभग्राहीेले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।

सहायक प्रजिअ बढुवालले छवटै स्थानीय तहमा हालसम्म २५ हजारका दरले ७७ करोड १० लाख २५ हजार रकम लाभग्राहीलाई उपलब्ध गराइएको जानकारी दिए। उनका अनुसार जिल्ला विपद व्यवस्थापन कोषबाट ३१ हजार नौ सय ६२ लाभग्राहीका लागि स्थानीय तह विपद जोखिम न्यूनीकरण कोषमा ७९ करोड ९० लाख ५० हजार पठाएको छ ।

जिल्लामा हालसम्म २८ हजार तीन सय ३४ अस्थायी आवास निर्माण सम्पन्न भएका छन्भने तीन हजार चार सय ४६ निर्माणको चरणमा रहेका सहायक प्रजिअ बढुवालले जानकारी दिए । अब जिल्लामा पहिचान भएका एक हजार एक सय ३१ लाभग्राहीले पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : २०८० फागुन १९ गते शनिबार
Translate »