सम्भावनाहरुलाई अवसरमा बदल्न कर्णालीका मुख्यमन्त्री कँडेलको आग्रह


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नयाँ वर्षको प्रारम्भसँगै नयाँ जोश, जाँगर, उमङ्ग र उत्साहका साथ आ–आफ्नो कर्मक्षेत्रमा जुट्न प्रदेशबासीलाई आग्रह गरेका छन् ।
उनले नयाँ वर्ष २०८१ को अवसर पारेर यस सुखद अवसरमा विगतका तितामिठा अनुभवबाट शिक्षा लिई सुखद भविष्यका लागि सबैलाई असल र सही गन्तव्य पहिल्याउन प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरे ।
‘यतिबेला हामी सात दशक लामो नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको क्रममा छौं । संघीयताको मूल मर्म अनुसार अझै पनि प्रादेशिक संरचना तथा यस अन्तर्गत आवश्यक नीतिगत र कानूनी प्रावधानहरुको धेरै अभावहरु देखिएका छन्,’ उनले भने, ‘कानूनी र नीतिगत प्रबन्धबिना प्रदेश संरचना अधिकार सम्पन्न र थप बलियो हुन सक्दैन् । नयाँ वर्षको सुरुवातसँगै प्रादेशिक संरचनाका लागि आवश्यक पर्ने संविधान प्रदत अधिकार महशुस हुने गरि कार्यको थालनी हुने मैले अपेक्षा लिएको छु ।’

उनले प्राकृतिक साधन र श्रोतले सम्पन्न भएर पनि कर्णालीबासी विकास, समृद्धि र सुशासनका दृष्टिले पछाडी परेकाले असंख्य सम्भावनाहरुलाई अवसरमा बदल्न सबैको सामुहिक प्रयास अपरिहार्य रहेको बताए ।
‘प्रदेशको प्रतिष्ठा अभिवृद्धि गरी कर्णालीबासीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु प्रदेश सरकारको सर्वोपरि लक्ष्य हो,’ उनले भने, ‘यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबैबीच एकता, पारस्परिक मेलमिलाप, आत्मीयता र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्दै नयाँ वर्ष उपलब्धी र समृद्धिको ऐतिहासिक वर्षको रुपमा स्थापित हुने विश्वास व्यक्त गर्दछु ।’
उनले विक्रम संवत् २०८० पूरा भई नयाँ वर्ष वि।सं। २०८१ प्रारम्भ भएको अवसरमा देश विदेशमा रहेका नेपाली दाजुभाई, दिदीबहिनीलाई सुख, शान्ति, सुस्वास्थ्य एवम् समृद्धिका साथै उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरे ।


