सुदूरपश्चिममा नाउपाकै नेतृत्वमा सरकार बन्ने


धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) कै बन्ने देखिएको छ । मुख्यमन्त्रीमा नाउपा रन्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीको पनि दाबी पेश गरेका छन् । यसअगाडि नागरिक उन्मुक्तिका पार्टीका रेशम चौधरी पक्षका सांसद लक्ष्मणकिशोर चौधरीले पनि दाबी पेस गरेका थिए ।
उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेको बताइएको छ । सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० जना र नेकपा माओवादी केन्द्रका सभामुखसहित ११ जना सदस्य छन् ।
कैलाश चौधरीलाई स्वतन्त्र सांसद तारा जोशीले पनि समर्थन गरेको बुझिएको छ । एउटै पार्टीको दुई सांसदको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका छैनन् । उनले कानुनी परामर्श गर्ने र आवश्यक परे दुवै पक्षले बहुमत सांसदलाई भौतिक रुपमा उपस्थित गराएर सनाखत गराउनुपर्ने बताएका छन् ।

सनाखत गराएमा कैलाश वा लक्ष्मणकिशोर जसको पक्षमा बहुमत पुग्छ, उही सुदूरपश्चिमको मुख्यमन्त्री बन्न सक्छन् । यता नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
५३ सदस्यीय प्रदेशसभामा बझाङबाट निर्वाचित पृथ्वी सिंहको निधन भएकाले हाल ५२ जना कायम छन् । जसमध्ये लक्ष्मणकिशोरको पक्षमा कांग्रेसका १८, एकीकृत समाजवादीका चार र नाउपा रेशम पक्षका ५ जना छन् ।
उनीहरु सबै एक ठाउँमा उभिए बहुमत (२७) मत पुग्नेछ । तर दलको नेता घनश्याम चौधरीलाई निलम्बन गर्ने र कैलाशलाई जिम्मेवारी दिने रञ्जिताको पत्र सभामुखसँग छ । सभामुख भीमबहादुर भण्डारीले त्यसलाई सदर गरेमा कैलाशको पल्लाभारी हुने सम्भावना बढी हुनेछ ।
सुदूरपश्चिममा लक्ष्मणकिशोर वा कैलाश जो मुख्यमन्त्री भए पनि सरकार नाउपाकै नेतृत्वमा बन्ने छ ।

