

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।
मुख्यमन्त्री सोडारीले प्रदेश सभा बैठकमा प्रस्तुत गरेको विश्वासको मतको पक्षमा २८ मत परेको छ भने विपक्षमा शून्य मत परेको छ । बैठकमा सभामुख भिम बहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेको घोषणा गरे । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि कम्तीमा २७ मत आवश्यक पर्छ । उनलाई नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्रका १०, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्यले मतदान गरेका थिए ।

सोडारी वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । नेपाली काँग्रेस र नागरिक उन्मुक्ति (रेशम निकट) र राप्रपाका प्रदेश सभा सदस्यले विश्वासको मतको मतदान प्रक्रियामा भाग नलिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जोशीले बताए । सभामुख भिमबहादुर भण्डारीले आफूहरूको विरोधका वीच विश्वासको मत प्रस्ताव मतदान प्रक्रिया अगाडि बढाईएकाले काँग्रेस, राप्रपा र नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्यले बैठक बहिष्कार गरेको काँग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले बताए ।
बैठकमा सत्ता पक्षका प्रदेश सभा सदस्य मात्र थिए । त्यस अघि काँग्रेस, राप्रपा, नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्यको अवरोधपछि सभामुख भण्डारीले ३० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।










