

सुर्खेत । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीसहित एक टोलीले रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतको स्थलगत निरीक्षण तथा अनुगमन गरेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका रेडियो नेपालका प्रादेशिक प्रसारण केन्द्र तथा रिले स्टेशनहरुको स्थलगत निरीक्षण दौरामा रहेका रेडियो नेपालका कार्यकारी निर्देशक केसीले प्रादेशिक प्रसारण केन्द्र सुर्खेतमा आज प्राविधिक, व्यापार, कार्यक्रम तथा समाचारका विविध प्रसङगमा प्रादेशिक प्रसारणको अवस्था र आगामी वर्षमा गर्नुपर्ने कार्ययोजनाका बारेमा कर्मचारीहरुसँग अन्तरक्रिया तथा छलफल गरेका हुन् ।


उनले प्रादेशिक प्रसारण केन्द्र सुर्खेतले गर्नुपर्ने कार्यहरु, प्रसारण क्षमता बृद्धिसँगै व्यापार बढाउने बारेमा कर्मचारीहरुसँग अन्तरक्रिया गरे । कार्यसम्पादनका दौरान प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका कर्मचारीहरुले भोग्नु परिरहेका समस्या र तिनको निदानका बारेमा आफुले रेडियो नेपालको बोर्ड बैठकबाट स्वीकृत गराउन सक्दो प्रयास गराउने कार्यकारी निर्देशक केरीले कर्मचारीसँग प्रतिवद्धता समेत व्यक्त गरे ।
यसअघि रेडियो नेपाल सुर्खेत प्रादेशिक प्रसारण केन्द्रका प्रमुख आनन्दविश्व पन्तले प्रादेशिक प्रसारण केन्द्र सुर्खेतको वर्तमान अवस्था, चुनौतीहरुका बारेमा निरीक्षण तथा अनुगमन टोलीलाई सविस्तार जानकारी गराएका थिए ।
अन्तरक्रिया तथा छलफल कार्यक्रममा रेडियो नेपालका नायव कार्यकारी निर्देशक (ईन्जिनियरीङ) कृष्णचन्द्र पौडेल, योजना निर्देशक पुष्करराज गौतम, व्यापार उपनिर्देशक पुस्कर बराल, प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका वरिष्ठ प्राविधिक अधिकृत नरेशसिंह थापा तथा कार्यक्रम अधिकृत भानुभक्त खड्कालगायतको सहभागिता रहेको थियो ।











