२०८३ कात्तिक २२ , शनिबार
Sky News Nepal
November 7, 2026

सिरोहियालाई थप तीन दिन थुनामै राख्ने आदेश, उपचारका लागि काठमाडौं लगियो



जनकपुर । नागरिकतासम्बन्धी मुद्दामा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश प्रसाद सिरोहियालाई जिल्ला अदालत धनुषाले पुन: थप तीन दिन थुनामा राख्न आदेश गरेको छ ।

धनुषा अदालतको बेन्च नम्बर ७ का न्यायाधीश यदुराज शर्माको इजलासले यस्तो आदेश गरेको हो । सरकारी वकिल कार्यालय धनुषाले सिरोहियालाई थप पाँच दिन थुना राखी मुद्दा अनुसन्धान गर्ने समय मागेको थियो ।

बुधबार र शुक्रबार गरी दुईपटक भएको पेसीमा ३/३ दिनको म्याद थप गरेर थुनामा राख्न अनुमति दिएको थियोे । गत शुक्रबार म्यादपश्चात् सिरोहियाको मुटुको चालमा गडबडी र उच्च रक्तचाप देखिएपछि जनकपुरको काव्या अस्पतालमा भर्ना गरिएको थियोे ।

यसैवीच सिरोहियाको स्वास्थ्यमा जटिलता देखिएपछि आज काठमाडौं रेफर गरिएको छ । जनकपुरधामको काव्या अस्पतालमा उपचारका लागि भर्ना रहेका सिरोहियालाई थप उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा रेफर गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

तेस्रो पटक धनुषा अदालतको आदेशमा प्रहरीलाई थप अनुसन्धानका लागि तीन दिनका लागि म्याद थप गरिएका सिरोहियालाई अदालतबाट सोझै काव्या अस्पतालको एम्बुलेन्सबाट अस्पतालमा नै पुर्‍याउने काम भएको थियो ।

उच्च रक्तचाप तथा मधुमेहले पीडित रहेका सिरोहियालाई चिकित्सकको सिफारिसमा हेलिकप्टरबाट काठमाडौं लाने काम भएको धनुषाका प्रहरी नायव उपरीक्षक अवाले जानकारी दिए । गत जेठ ८ गते काठमाडौंबाट सिरोहियालाई पक्राउ गरेर बुधवार धनुषा जिल्ला अदालतमा प्रहरीले पेश गरेको थियो ।

दोस्रो पटक म्याद थप गरेपछि सिरोहियालाई तनाव भएर बिरामी परेपछि अस्पतालमा भर्ना भएका थिए । तेस्रो पटक म्याद थप भएपछि सिरोहियालाई थप उपचारका लागि काठमाडौं लगिएको हो ।

प्रकाशित मिति : २०८१ जेठ १५ गते मंगलबार
Translate »