२०८३ कात्तिक २२ , शनिबार
Sky News Nepal
November 7, 2026

विकास निर्माणमा राजनीति दलहरुबीच विवाद छैन : काँग्रेस उपसभापति खड्का



सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सबै राजनीति दलहरुको लक्ष्य जनताको सेवा भएकाले विकास निर्माणमा राजनीति दलहरुबीच विवाद नरहेको बताएका छन् । उनले सबै राजनीति दलहरू मिलेर आएको बजेट सदुपयोग गर्नुपर्ने बताए ।

‘विकासका लागि सबै पार्टी एकै हुन्, बाटो बनाउने, विजुली ल्याउने, सिंचाइ बनाउने, विद्युतीकरण ल्याउने काम पार्टीको हो,’ चिंगाड गाउँपालिका र लेकवेशी नगरपालिका जोड्ने ट्रस पुलको बुधबार उद्घाटन गर्दै उनले भने, ‘राजनीतिक कारण र दर्शनले पार्टी फरक भएपनि विकासका लागि सबैको पार्टी एउटै हो ।’

उपसभापति खड्काले विकास निर्माणमा यो खालको ध्यान सबै जनप्रतिनिधिहरुको हुन आवश्यक रहेको उनको भनाई छ । उपसभापति खड्काले सबै राजनीति दलको लक्ष्य जनताको सेवा, समृद्धि, सम्मुन्नति, उन्नति र प्रगति भएको बताए । ‘त्यसमा कुनै राजनीति दलको विवाद छैन । जनताको खुश दुःखमा, समृद्धिमा, सम्मुनतिमा, उन्नति प्रगतिमा राजनीतिक दलहरुबीच कुनै विवाद छैन,’ उनले भने, ‘सबै एकताबद्व भएर आएको बजेट सदुपयोग गर्न, गुणस्तरीय काम गर्नतर्फ लाग्नुपर्छ ।’

सामुदायिक विद्युतीकरण विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्न स्थानीय तहसँग आग्रह गरे । उनले सुर्खेतलाई पूर्ण विद्युतीकरण गर्ने गरेर बजेटको ब्यवस्था गरिएको बताए ।

‘सिम्ता र चिंगाङ गाउँपालिकामा सामुदायिक विद्युतीकरणका कारण विद्युत प्राधिकरणलाई काम गर्न समस्या भएको छ,’ उनले भने, ‘चाँडो विद्युतीकरणका लागि सामुदायिक विद्युतीकरण विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्न आवश्यक छ ।’ उनले सामुदायिक विद्युतीकरणका कारण जनताले महंगो शुल्क तिर्न परिरहेको बताए ।

उपसभापति खड्काले चिंगाडको तिरैतिर भएर जाने गंगगे–आरनटुडा–ढाडखेत–मटेला–थाला–भ्युसा–जाजरकोट सडकको स्तरोन्नतिका लागि काम भइरहेको बताए । ‘चिंगाडका जनतालाई प्रदेश राजधानी जानका लागि यो सडक महत्वपूर्ण छ,’ उनले भने, ‘त्यसैले पहिलो प्राथमिकतामा राखेर काम भइरहेको छ ।’

प्रकाशित मिति : २०८१ असार ६ गते बुधबार
Translate »