

वीरेन्द्रनगर । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा गरिब, दिनदुःखी र बेसाहराका सारथी भनेर चिनिने नवराज बोहरा (भेडा) अरुभन्दा भिन्न प्रकारका समाजसेवी हुन् ।
विभिन्न राजनीतिक विचार र आस्था भन्दा माथि उठेर मानवसेवालाई सर्वोपरी मान्दै समाजसेवामा तल्लिन भेडा पशुपंक्षीको हक, हित र रक्षाका लागि पनि उत्तिकै चर्चित छन् । रातदिन केही नभनि आफ्नो व्यक्तिगत जीवनलाई गौण राख्दै अरुको हितका लागि दौडिने भेडा सडक सुरक्षा, पेड पौधादेखि चौतारा निर्माण कार्यसम्म अनवरत जुटेका व्यक्ति हुन् ।
तिनै नवराज भेडाले अहिलेको प्रचण्ड गर्मीमा विभिन्न दाताहरुको सहयोगले वीरेन्द्रनगरको मङगलगढी चोक स्थित श्रमदाता चौतारामा बटुवादेखि सडकमा ओहार–दोहार गर्ने स्थानीय नागरिकका लागि समेत निःशुल्क खानेपानीको व्यवस्था गरेका छन् ।


सडकमा पिउने पानी विना कोही मर्न नपरोस भन्ने हेतुले अहिलेको खडेरीमा विहान १० बजेदेखि बेलुका ५ बजेसम्म १ लाख बढी नागरिकलाई निःशुल्क खानेपानी सेवा पु¥याएको नवराज भेडाले जानकारी दिए ।
उनले पछिल्लो ७ दिनसम्म सञ्चालन गरिएको निःशुल्क चिसो खानेपानी सेवा अन्तर्गत ३१ जनाबाट ३५ हजार रुपैयाँ संकलन गरी ७ सय बढी जारको पानीबाट ४० हजार बढी बटुवालाई सेवा पु¥याईएको बताए ।
उनका अनुसार हाल मौसममा आएको नमिका कारण केही दिनका लागि सेवा बन्द गरिएपनि आवश्यकता अनुसार फेरी सुचारु गरिनेछ । नवराज भेडाले उपलब्ध गराएको निःशुल्क चिसो खानेपानी सेवा लिनेमा बालबालिका, बृद्धबृद्धा, मजदूर र यात्रुहरु बढी थिए ।












