एमाले प्रदेश अध्यक्ष पदेन केन्द्रीय सदस्य


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका प्रदेश अध्यक्षहरूलाई केन्द्रीय सदस्य सरहको मान्यता दिएको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले मङ्गलबार जारी गर्नुभएको अन्तरपार्टी निर्देशन (अपानी)–१० मा प्रदेश अध्यक्षहरुलाई पदेन केन्द्रीय सदस्य सरहको मान्यता दिने उल्लेख गरिएको छ । यसअघि प्रदेश अध्यक्षलाई पार्टीको पोलिटब्यूरो सदस्य सरहको मान्यता दिइएको थियो ।

एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले पार्टीको संरचनाअनुसार एक तहमाथि लैजान नमिल्ने भएकाले यसअघिको भएको निर्णय पुनःविचार गर्दै प्रदेश अध्यक्षलाई पदेन केन्द्रीय सदस्यसरह जिम्मेवारी दिइएको बताए ।
यो निर्णयअनुसार अब कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा, मधेस प्रदेशका चन्द्रेश्वर मण्डल, बागमती प्रदेशका कैलाश ढुङ्गेल, गण्डकी प्रदेशका नवराज शर्मा, लुम्बिनी प्रदेशका राधाकृष्ण कँडेल, कर्णाली प्रदेशका गुलाबजङ्ग शाह र सुदूरपश्चिम प्रदेशका कृष्णप्रसाद जैसी पदेन केन्द्रीय सदस्य भएका छन् । रासस

