रोपाइँलाई अनुकूलन मनसुन : देशभर ९८ प्रतिशत रोपाइँ

काठमाडौं । यस वर्ष धान रोपाइँका लागि मनसुन अनुकूल रहँदा ९८ दशमलव पाँच प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार अघिल्लो वर्ष ९४ दशमलव ६ प्रतिशतमा रोपाइँ सम्पन्न भएकामा यस वर्ष झन्डै चार प्रतिशत रोपाइँ बढेको छ ।

मुलुकभर १३ लाख ९८ हजार नौ सय ८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने क्षेत्रमध्ये १३ लाख ७८ हजार ६ सय ११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार कोशी प्रदेशमा ९९ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कोशी प्रदेशमा करिब दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर रोपाइँ हुने क्षेत्रफल रहेकामा हालसम्म दुई लाख ७५ हजार दुई सय ६७ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्ष भदौ ७ सम्म कोशी प्रदेशमा ९७ दशमलव सात प्रतिशतमा रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी, मधेस प्रदेशमा ९७ दशमलव तीन प्रतिशतमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यस प्रदेशमा तीन लाख ८६ हजार एक सय ५० हेक्टर रोपाइँ हुने क्षेत्र रहेकामा तीन लाख ७५ हजार ६ सय १४ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । अघिल्लो वर्ष मधेस प्रदेशमा ८९ दशमलव दुई प्रतिशतमा मात्रै रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी, बागमती प्रदेशमा यस वर्ष ९९ दशमलव दुई प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ । तथ्याङ्कअनुसार बागमतीमा एक लाख १२ हजार दुई सय ७३ हेक्टर खेतीयोग्य क्षेत्रफल रहेकामा एक लाख ११ हजार तीन सय ५१ क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयले जानकारी दिनुभयो । अघिल्लो वर्ष यस प्रदेशमा ९३ दशमलव तीन प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

यस वर्ष गण्डकी प्रदेशमा भने ९७ दशमलव ८ प्रतिशत रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । यस प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफल ९६ हजार ५३ रहेकामा ९३ हजार नौ सय २१ क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्ष गण्डकी प्रदेशमा ९५ दशमलव तीन प्रतिशतमा रोपाइँ सम्पन्न भएको थियो ।

यसैगरी, लुम्बिनी प्रदेशमा ९८ दशमलव तीन प्रतिशतमा यस वर्ष रोपाइँ सम्पन्न पनि मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यस प्रदेशमा तीन लाख ११ हजार ६ सय ४३ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकामा तीन लाख ६ हजार तीन सय ७७ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । अघिल्लोे वर्ष लुम्बिनी प्रदेशमा ९५ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।

यसैगरी, कर्णाली प्रदेशमा यस वर्ष ९९ दशमलव दुई प्रतिशतमा रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । कर्णाली प्रदेशमा ४१ हजार नौ सय चार हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकामा यस वर्ष ४१ हजार पाँच सय ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । अघिल्लो वर्ष ९८ दशमलव पाँच प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

यसैगरी यो वर्ष सुदूरपश्चिम प्रदेशमा शत्प्रतिशत नै रोपाइँ सम्पन्न भइसकेको मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । यस प्रदेशमा एक लाख ७४ हजार पाँच सय ७६ हेक्टर धान रोपाइँ हुने क्षेत्रफल रहेकामा एक लाख ७४ हजार पाँच सय एक हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । अघिल्लो वर्ष सुदूपश्चिम प्रदेशमा भने ९४ दशमलव ६ प्रतिशत रोपाइँ भएको थियो ।

कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीले यस वर्ष रासायनिक मलको सहज उपलब्धता र किसानका लागि मनसुन सुखद रहेको कारण झन्डै चार प्रतिशतले रोपाइँ बढेको जानकारी दिए । ‘अघिल्लो वर्षहरूका तुलनामा यस वर्ष धान रोपाइँको अवस्था राम्रो रहेको छ,’ उनले भने, ‘यदि अब खडेरी परेन र धान भित्र्याउने बेलामा ठूलो वर्षा भएन भने १० प्रतिशतले धान उत्पादन बढ्नेछ ।’

अधिकांश स्थानमा रोपाइँ गर्न आकाशे पानीकै भर पर्नुपर्ने अवस्था रहेको र वर्षा राम्रो भए रोपाइँ पनि समयमा नै सकिने जोशीले जानकारी दिए । ‘अधिकांश सिँचाइ सुविधा पुगेका क्षेत्रमा मात्रै धान रोपाइँ समयमा नै हुने गर्छ, नत्र आकाशे पानीकै भर पर्नुपर्छ,’ उनले भने ।

तथ्याङ्कअनुसार सबैभन्दा बढी रोपाइँ सुदूपश्चिममा भएको छ भने कम रोपाइँ मधेस प्रदेशमा भएको देखिन्छ । चालु आर्थिक वर्षमा छ लाख मेट्रिक टन मल आह्वान गरेकामा चार लाख ७२ हजार दुई सय ८७ मेट्रिक टन आयात भएको थियो । बिक्री भने चार लाख ५५ हजार नौ सय ३९ मेट्रिक टन बिक्री भएको थियोे । हालसम्म ८७ हजार एक सय ५४ मेट्रिक टन मौज्दात रहेको अवस्था छ । चालु आर्थिक वर्षको साउनमा भने तीन लाख ७० हजार मेट्रिक टन रासायनिक मलका लागि ‘टेन्डर’ आह्वान गरिएको कृषि मन्त्रालयका सूचना अधिकृत महानन्द जोशीको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा जगदीश्वर कर्माचार्यले मनसुनयता अहिलेसम्म औसतभन्दा बढी पानी परेको जानकारी दिए । ‘आजसम्म ८४ दशमलव आठ प्रतिशत अर्थात् देशभर औसतमा १२ सय ५४ मिलिमिटर पानी परेको छ,’ उनले भने, ‘कतिपय स्थानमा कम पानी र कतै बढी पानी परेको छ ।’

कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार झन्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा सम्पन्न हुने गरेका छन् । सबै क्षेत्रमा सिँचाइको पहुँच पुग्न नसक्दा ५० प्रतिशतभन्दा बढी रोपाइँ आकाशबाट पर्ने पानीकै भरमा सम्पन्न हुने गरेको हो ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा ८८ करोड ६५ लाख मूल्य बराबरको धानको बीउ आयात भएको छ । यसैगरी, करिब ११ अर्ब ५५ करोड मूल्य बराबरको धान आयात भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार यस अवधिमा आठ अर्ब ६९ करोड मूल्य बराबरको चामल आयात भएको छ । करिब नौ लाख २० हजार मूल्य बराबरको कनिका आयात भएको छ ।

धान उत्पादनको अवस्था

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा धानको कूल उत्पादन गत आवभन्दा ४ दशमलव ३३ प्रतिशतले वृद्धि भई ५७ लाख २४ हजार दुई सय ३४ मेट्रिक टन पुगेको थियो । जुन विगत चार वर्षको औषत उत्पादनको तुलनामा ५ दशमलव ०८ प्रतिशतले बढी हो ।

कूल धानबाली भित्र्याइएको क्षेत्रफल आव ०७९/८० को तुलनामा शून्य दशमलव ६१ अर्थात् आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार नौ सय ८९ हेक्टर कायम हुन पुगेको छ । यो क्षेत्रफल अघिल्लो चार आवको औसत क्षेत्रफलको तुलनामा एक दशमलव ७३ प्रतिशतले कम हो । धानबालीको औसत उत्पादकत्व गत आवको तुलनामा चार दशमलव ९७ प्रतिशतले वृद्धि भई तीन दशमलव ९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा छ दशमलव ९२ प्रतिशतले बढी हो ।

गत आवमा धानको उत्पादन कोशी प्रदेशमा उच्च रहेको छ भने कर्णाली प्रदेशमा न्यून रहेको छ । गत आवमा उत्पादकत्वतर्फ कोशी प्रदेश चार दशमलव ४३ मेट्रिक टन प्रतिहेक्टरसहित अग्रस्थानमा रहन गयो भने मधेस प्रदेश तीन दशमलव ४९ मेट्रिक टन प्रतिहेक्टर मेट्रिक टनमा सीमित भई न्यून स्थानमा रहन पुग्यो । मुख्य धानको तुलनामा विगतका आवमा जस्तै चैते धानको उत्पादकत्व उच्च कायम रहेको छ । रासस

Translate »