२०८३ असोज ६ , मंगलबार
Sky News Nepal
September 23, 2026

नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको



काठमाडौं । एक वर्षमा नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी आएको केन्द्रीय बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकले आज (शुक्रवार) सार्वजनिक गरेको  ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ले यस्तो देखाएको हो ।

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा देशमा कुल प्रत्यक्ष वैदेशिक लगानी रू. २ खर्ब ९५ अर्ब ५० करोड छ, जसमध्ये भारतबाट सबैभन्दा बढी अर्थात् रू. १ खर्ब ३ अर्ब ४५ करोड (३५ प्रतिशत) लगानी रहेको देखिन्छ ।

चीनले नेपालमा रू. ३५ अर्ब ४६ करोड (१२ प्रतिशत) ० लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, आयरल्याण्डबाट रु २२ अर्ब ६२ करोड (सात दशमलव सात प्रतिशत), अष्ट्रेलियाबाट रु १९ अर्ब ६ करोड (छ दशमलव चार प्रतिशत) र सिङ्गापुरबाट रु १८ अर्ब ८१ करोड (छ दशमलव चार प्रतिशत) प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९ दशमलव ७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४० दशमलव दुई प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९ दशमलव चार प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा छ ।

प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण गरी नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।

आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल दुई सय ३८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा उक्त सर्वेक्षण प्रतिवेदन तयार पारिएको राष्ट्र बैंकले जनाएको छ । आर्थिक अभियान

प्रकाशित मिति : २०८१ भदौ १६ गते आइतबार
Translate »