एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत विधान मस्यौदा र साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय कमिटीका सदस्यहरुले धारणा राख्नेक्रम जारी छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजोदेखि जारी बैठकमा पार्टीका उपाध्यक्ष एवम् विधान मस्यौदा समितिका संयोजक विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेलले प्रस्तुत गरेको विधान मस्यौदा र साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यलाई तीन मिनेटमा आफ्नो धारणा राख्न समय दिइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार बैठकमा केन्द्रीय सदस्यले उठाएका विषयलाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि विधान मस्यौदालाई पारित गर्दै आजै बैठक समापन हुनेछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग समेत उठेको छ । जारी बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले ओलीले दुई कार्यकाल चलाइसकेकाले अब नेतृत्व हस्तान्तरण गर्न आग्रह गरिन् ।

‘कुनै व्यक्ति विशेषलाई हेरेर विधान बदल्नुभन्दा संगठनलाई बलियो बनाउने गरी विधान बनाऔं, वर्तमान अध्यक्ष कमरेडले दुई कार्यकाल अध्यक्ष चलाइसक्नु भयो । उहाँले पर्याप्त नेतृत्वको अवसर पाउनु भएको छ । अब निसर्त नेतृत्व हस्तान्तरण र पुस्तान्तरण पनि परिवर्तनको एउटा विषय हो,’ उनले बैठकमा भनिन्, ‘कोअर्डिनेसन केन्द्रदेखिका कमरेडहरू हुनुहुन्छ । आपसी समझदारीमा जो अध्यक्ष भएपनि कमिटी मातहत रहेर पार्टी चल्ने कुराको ग्यारेन्टी अबको विधानले निर्धारण गर्नुपर्छ ।’
उनले एमालेको नेतृत्व प्रतिवेदन लेख्न पनि नभ्याउने स्थितिमा पुगेको कुरा शोभनिय नलागेको समेत बताइन् । उनले मौखिक भाषण गर्दा पेस गरेका दाबी समेत अपूरा भएको बताइन् । विधानमा एउटा अपरिहार्य बुँदा थपिनु पर्ने र संगठित सदस्य कुनै पनि फौजदारी अभियोग नलागीकन खोस्न नपाइने व्यवस्था गरिनुपर्ने उनको माग थियो ।
‘सधैं पार्टी घेराबन्दीमा पर्यो–पर्यो भनिन्छ, पार्टी सरकारमा हुँदा पनि घेराबन्दीमा, प्रतिपक्षमा हुँदा पनि घेराबन्दी कसरी हुन्छ ? यो घेराबन्दी तोड्न हाम्रो यति ठूलो संगठनात्मक शक्ति भएको एमालेले किन नसकेको हो ?’ उनको प्रश्न थियो,’ ‘हामी मिसन ८४ भनिरहेका छौं, यो हलमा भएका कम्तीमा एक तिहाइले राज्यसत्ताको अभ्यास गरिरहेका छौं, अनि जनतालाई ८४ देखाएर हुन्छ ? आज हामी के गर्दैछौं ? भन्ने कुरा मुख्य होइन र ?’

