कोहलपुरबाट लुटिएको नगद, सुन चाँदी फिर्ता गर्ने क्रम बढ्यो

बाँके । कोहलपुर नगरपालिका–११ स्थित राजस्व अनुसन्धान कार्यालयमा जेन–जी प्रदर्शनका क्रममा भएको आगजनी र लुटपाटपछि हराएको नगद र सुन–चाँदी प्रहरीलाई बुझाउने क्रम सुरु भएको छ।

कोहलपुर–१ का ३२ वर्षीय अजय परियारसहितका व्यक्तिहरुको पहलमा स्थानीय समाजसेवी र जनप्रतिनिधिहरुको सक्रियतामा फिर्ता प्रक्रिया अघि बढाइएको हो ।

सोमबार राति इलाका प्रहरी कार्यालय कोहलपुरमा युवाहरुले फिर्ता गरेको सामग्रीमा नेपाली रुपैयाँ १,१७,६५०, भारतीय रुपैयाँ ८४,३६०, सुन ४२१.३२ ग्राम र चाँदी ९ किलो ९८४ ग्राम रहेको छ । राजस्व अनुसन्धान कार्यालयका शाखा अधिकृत खड्कप्रसाद उपाध्याय, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा मुचुल्का तयार गरी सामग्री प्रहरीमा बुझाईएका छन् ।

बाँके प्रहरीले स्वस्फूर्त फिर्ता गर्नेहरुलाई कारबाही नगर्ने सार्वजनिक सूचना प्रकाशित गरेपछि जिल्लाका विभिन्न सरकारी र निजी घरमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न समूहहरुले समान फिर्ता गर्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले विध्वंसात्मक क्रियाकलापमा संलग्नहरुको फोटो, भिडियो र अन्य विवरण प्रदान गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।

 

Translate »