

सुर्खेत । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ तिलगाउँस्थित गुङन्छुसा खोलामा आएको बाढीले तीन वटा पुल बगाएको छ ।
स्थानीय बासिन्दाद्वारा श्रमदानबाट निर्माण गरिएका ती पुलहरु बुधबार आकस्मिक आएको लेदो सहितको बाढीले बगाएको हो । बाढीका कारण बस्ती जोखिममा परेपछि दुई जना बृद्ध नागरिकलाई कुनजुम गुम्बामा सारिएको स्थानीय दोर्जी लामाले जानकारी दिए ।
अचानक बाढी उर्लिएर पुलहरु बगाएपछि गाउँपस्ने डरले स्थानीय बासिन्दा सशंकित भएर प्रहरीलाई खबर गरेका थिए । खबर पाउना साथ जोखिममा परेका बस्तीको अवस्थाबारे अवलोकन गर्न सात जना प्रहरीको टोली खटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख (डीएसपी) शंकर खड्काले बताए ।


उनले तिलगाउँमा बाढीले कुनैपनि मानविय क्षति नपु¥याएपनि तीन वटा पुल बगाएको जानकारी दिए । अहिले तिलगाउँमा स्थिति सामान्य बन्दै गईरहेको उनको भनाइ छ । बाढीको अवस्था बुझ्न तिलगाउँ पुगेको प्रहरी टोलीले क्षतिको मूल्यांकन गरिरहेको छ ।
तिलगाउँमा ३ जना बालबालिका र १९ जना महिलासहित २९ जना रहेका छन् । यसअघि २०८२ साल जेठ १ गते हिमताल भासिएर लेदो सहितको बाढीले क्षतविक्षत् गरेको स्थानमा अहिले फेरि बाढीले क्षति पु¥याएको हो ।
यस वर्ष पनि सोही स्थानमा बाढी आएपछि हिमताल फुटेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।












