२०८३ असोज २० , मंगलबार
Sky News Nepal
October 6, 2026

लक्ष्मी सनराइज बैंकद्वारा आँखा उपचार शिविरका लागि दुई लाखको सहयोग



सुर्खेत । लक्ष्मी सनराइज बैंकले सुदूर ग्रामीण क्षेत्रका विपन्न नागरिकको आँखा उपचार तथा निःशुल्क मोतिबिन्दु शल्यक्रिया कार्यक्रमका लागि आर्थिक सहयोग गरेको छ ।

सामाजिक रुपान्तर कार्यमा अग्रणी भूमिका खेल्दै आईरहेको लक्ष्मी सनराइज बैंकले बुधबार पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा सञ्चालन भएको आँखा उपचार तथा निःशुल्क मोतिबिन्दु शल्यक्रिया कार्यक्रमका लागि दुई लाख रुपैयाँको आर्थिक सहयोग गरेको हो ।  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकको सुर्खेत शाखाले गरिब र विपन्न वर्गहरुको आँखा उपचार तथा निःशुल्क मोतिबिन्दु शल्यक्रियाका लागि सानो रकम सहयोग गरिएको जनाएको छ ।

लक्ष्मी सनराइज बैंकका कर्णाली प्रदेश प्रमुख दिवाकरदत्त जोशी, सुर्खेत शाखा प्रबन्धक सुस्मा गिरीले नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पताल व्यवस्थापन समितीका सभापति रामलाल आचार्य, नेत्र विशेषज्ञ डा. सबिना पराजुलीलाई उक्त सहयोग रकम चेक मार्फत हस्तान्तरण गरेका छन् ।

लक्ष्मी सनराइज बैंक लिमिटेड र रुइत फाउण्डेशनको संयुक्त आर्थिक सहयोग तथा सिम्ता गाउँपालिकाको आयोजना एवम नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा सिम्ताका १९ वटा स्थानहरुमा छुट्टाछुट्टै आँखा उपचार शिविर सञ्चालन गरिएको सुर्खेत आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत प्रेम दीक्षितले जानकारी दिए ।

उनले आँखा उपचार तथा निःशुल्क मोतिबिन्दु शल्यक्रिया कार्यक्रममा १ हजार ५ सय ३२ जना नेत्र रोगीहरुको उपचार गरिएको बताए । उनका अनुसार शिविरमा ४ सय १ जनालाई चश्मा वितरण गर्नुका साथै १ सय १६ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया गरिएको छ ।

गत माघ १७ गतेदेखि १९ गतेसम्म सञ्चालित निःशुल्क शिविर कार्यक्रममा सिम्ता गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्य कर्मचारी, लक्ष्मी सनराइज बैकका कर्मचारी, रेडक्रसका स्वयंसेवकहरुको सक्रिय सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ फागुन १४ गते बिहीबार
Translate »