ग्यास संकटले बढायो विद्युतीय चूह्लोको माग

काठमाडौं । इरान र अमेरिकाबीचको द्वन्द्वका कारण पश्चिम एशिया हुँदै हुने ऊर्जा आपूर्ति प्रभावित हुन थालेपछि यसको असर मुलुकको अर्थतन्त्रका अप्रत्याशित रूपमा देखिन थालेको छ । शहरी क्षेत्रमा खाना पकाउने ग्यासको सहज उपलब्धता घट्दै जाँदा विद्युतीय खाना पकाउने उपकरणको मागमा अचानक वृद्धि देखिएको छ ।

खाना पकाउने ग्यासको सहज आपूर्ति अनिश्चित बन्दै जाँदा पछिल्लो समय विद्युतीय चूह्लोको माग ह्वात्तै बढेको छ । खाना पकाउने ग्यासका लागि लाइन लाग्नुपर्ने अवस्था देखिन थालेपछि धेरै उपभोक्ताले विकल्पका रूपमा विद्युतीय चूह्लो प्रयोगतर्फ मोडिएका छन् ।

यही कारण बजारमा इन्डक्शन र इन्फ्रारेड विद्युतीय चुह्लोको विक्री तीव्र रूपमा बढेको व्यापारीहरूको भनाइ छ । काठमाडौँको न्यूरोडमा होलसेल व्यापार गर्दै आएका पीएपी इलेक्ट्रोनिक्सका सञ्चालक धीरज कुँवरका अनुसार खाडी क्षेत्रमा युद्ध शुरू भएयता विद्युतीय चूह्लोको माग र विक्री उल्लेख्य रूपमा बढेको छ ।

उनका अनुसार बजारमा मुख्यतः दुई प्रकारका विद्युतीय चूह्लो उपलब्ध छन्, इन्डक्शन र इन्फ्रारेड । इन्डक्शन चूह्लोमा सबै प्रकारका भाँडा प्रयोग गर्न मिल्दैन, तर इन्फ्रारेड चूह्लोमा अधिकांश भाँडा प्रयोग गर्न सकिन्छ । यही कारण इन्फ्रारेड चूह्लो किन्ने उपभोक्ताको संख्या बढी देखिएको उनले बताए । ‘इन्फ्रारेड चूह्लोको माग धेरै छ । मागअनुसार आपूर्ति गर्न हामीलाई हम्मेहम्मे परिरहेको छ,’ उनले भने । बजारमा भारतीय र चिनियाँ ब्रान्डका साथै घरेलु ब्रान्ड सीजी, बाल्ट्रालगायत विद्युतीय चूह्लो बढी विक्री भइरहेको उनले जानकारी दिए ।

तारे होटेल, साना रेस्टुराँ र घरायसी भान्सामा पनि इन्डक्शन र इन्फ्रारेड चूह्लो वैकल्पिक उपकरणका रूपमा प्रयोग हुन थालेका छन् ।

विद्युतीय चूह्लोको प्रयोग बढ्दै जाँदा यसको आयात र विक्रीमा समेत उत्साह देखिएको व्यवसायीहरू बताउँछन् । नेपाल विद्युतीय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष रमेश देवकोटाका अनुसार ग्यास सहज रूपमा उपलब्ध नहुँदा घरघरमा विकल्पका रूपमा विद्युतीय चूह्लो राख्ने प्रवृत्ति बढेको छ । ‘अहिले माग झन्डै दोब्बरजस्तो भएको छ । माग पूरा गर्न व्यवसायीलाई कठिन भइरहेको छ,’ देवकोटाले भने ।

पार्टी प्यालेस, होटेल र रेस्टुराँजस्ता स्थानमा लामो समयसम्म खाना तातो राख्नुपर्ने भएकाले इन्फ्रारेड चूह्लो खर्चका हिसाबले किफायती देखिएको उनको भनाइ छ । घरायसी प्रयोगसँगै व्यावसायिक क्षेत्रमा पनि यसको प्रयोग बढ्दो क्रममा रहेको देवकोटाले बताए ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ७ महीनामा १३ लाख ९ हजार ६३३ थान विद्युतीय चूह्लो नेपालमा आयात भएको छ । चीन, भारत, बंगलादेश, मलेशिया, कतार र सिंगापुरलगायत देशबाट विद्युतीय चूह्लो नेपाल भित्रिएका छन् । माघसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै विद्युतीय चूह्लो चीनबाट आयात भएको देखिन्छ । त्यसपछि भारत दोस्रो स्थानमा रहेको छ ।

अर्थशास्त्री रुद्र सुवालका अनुसार एलपी ग्यासको तुलनामा विद्युत् सस्तो र देशका लागि हितकर ऊर्जा स्रोत भएकाले सरकारले यसको प्रयोगमा उपभोक्तालाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता छ । एउटा एलपी ग्यास सिलिन्डर किन्न झन्डै २ हजार रुपैयाँ खर्च हुने तर त्यति नै परिमाणको खाना पकाउन इन्डक्शन चूह्लोमार्फत विद्युत् प्रयोग गर्दा करीब ९०० रुपैयाँ खर्च हुने उनको अनुमान छ ।

विद्युतीय चूह्लोको प्रयोग बढे वातावरण प्रदूषण पनि घट्ने भएकाले यसको प्रयोग विस्तार गर्नु आवश्यक रहेको सुवालले बताए । ‘खाना पकाउने बेला विद्युत् कटौती नहुने हो भने अर्बौं रुपैयाँबराबरको बिजुली देशभित्रै उपयोग गर्न सकिन्छ । यसले ग्यासमा हुने खर्च पनि बचत गर्छ,’ उनले भने । स्थानीय स्तरको विद्युत् पूर्वाधार बलियो बनाउन लगानी बढाउनुपर्ने र गुणस्तरीय, दुई वा त्योभन्दा धेरै मुखे इन्डक्शन तथा इन्फ्रारेड चूह्लोको प्रयोग बढाउनुपर्नेमा जोड दिनुपर्ने सुवालको सुझाव छ । (आर्थिक अभियान)

Translate »