अछाममा दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धिले उपभोक्ता मारमा


अछाम । नेपाल पत्रकार महासंघ अछामले ग्यास तथा पेट्रोलियम पदार्थको अभाव, कृत्रिम मूल्यवृद्धि तथा जिल्ला अस्पतालमा भएको आर्थिक अनियमितताका विषयमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।
महासंघ अछामका अध्यक्ष रमेश रावतले हस्ताक्षर गरेर सार्वजनिक गरेको ध्यानाकर्षण पत्रमार्फत चाडपर्व नजिकिँदै गरेको अवस्थामा अत्यावश्यक उपभोग्य वस्तुमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गरिएको प्रति सरोकारवालालाई ध्यानाकर्षण गराएको हो । पत्रमा बजारमा ग्यास, पेट्रोलियम पदार्थ लगायतका वस्तु सहज रूपमा उपलब्ध हुन नसक्नु, आपूर्ति प्रणालीमा देखिएको असन्तुलन तथा कालोबजारीको आशंकाले सर्वसाधारण प्रत्यक्षरुपमा प्रभावित भईरहेको उल्लेख छ ।
महासंघले कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने व्यवसायीमाथि कडा कारबाही गर्न, ग्यास तथा पेट्रोलियम पदार्थको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न तथा कालोबजारी नियन्त्रणका लागि प्रभावकारी अनुगमन संयन्त्र सक्रिय बनाउन ध्यानाकर्षण पत्र बुझाएको हो । त्यसैगरी, जिल्ला अस्पताल अछाममा आर्थिक अनियमितता भएको प्रति पनि महासंघले गम्भीर चासो व्यक्त गरेको छ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा हुने कुनैपनि प्रकारको अनियमितताले सेवाग्राहीमा नकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही तथा स्वास्थ्य सेवामा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न आग्रह गरिएको छ। अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले उक्त विषयलाई गम्भीररुपमा लिँदै तत्काल अनुगमन तथा कारबाही प्रक्रिया अघि बढाइने बताए ।

जिल्लामा मूल्यवृद्धिका नाममा अनियमितता भएको जनगुनासो बढ्दै गएपछि प्रशासनले त्यसको यथार्थ अवस्था बुझ्न छिट्टै बजार अनुगमन गर्ने उनले जनाए । उनले आवश्यक परेमा सम्बन्धित निकायहरूसँग समन्वय गरी संयुक्त अनुगमनलाई तीव्रता दिइने र दोषी पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने बताए ।
उपभोक्ताको अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउने, मूल्य नियन्त्रण गर्ने तथा बजारलाई व्यवस्थित बनाउने दिशामा प्रशासन प्रतिबद्ध रहेको उनको भनाइ छ । सर्वसाधारणलाई बजारमा देखिएका अनियमितता, कालोबजारी वा कृत्रिम अभाव जस्ता गतिविधि बारे जानकारी भएमा नजिकको प्रशासनिक निकायमा सूचित गर्न पनि उनले आग्रह गरेका छन् ।
नागरिकको सहकार्य र सक्रियताले मात्र बजार अनुगमन प्रभावकारी बन्ने उल्लेख गर्दै उनले पारदर्शी र उत्तरदायी बजार प्रणाली निर्माणमा सबै पक्षको भूमिका आवश्यक रहेको उनको भनाइ थियो । स्थानीय स्तरमा पछिल्लो समय ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता र मूल्यवृद्धिका कारण सर्वसाधारण मारमा परेका छन् ।
ध्यानाकर्षण पत्रपछि दैनिक उपभोग्य वस्तुको अभावले जनजीवन प्रभावित भइरहेका बेला सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन र छिटो हस्तक्षेप हुने अपेक्षा महासंघले अपेक्षा राखेको छ ।


