रास्वपा संसदीय दलको नेतामा सर्वसम्मत भए बालेन्द्र, प्रधानमन्त्री बन्ने बाटो खुल्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा बालेन्द्र (बालेन) शाहलाई चयन गरेको छ ।

रास्वपाको आज (बिहीवार) बसेको केन्द्रीय समितिको बैठकले बालेनलाई सर्वसम्मत तवरमा संसदीय दलको नेता चयन गरेको हो । रास्वपा प्रवक्ता मनिष झाका अनुसार समितिको बैठकमा पार्टी सभापति रवि लामिछानेले वरिष्ठ नेता शाहलाई संसदीय दलको नेतामा चयन गर्न राखेको प्रस्ताव सर्वसम्मत पारित भएको हो ।

आज दिउँसो सिंहदरबारस्थित नवनिर्मित संसद्‌ भवनमा प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ समारोहपश्चात्‌ रास्वपाको केन्द्रीय समिति बैठकले संसदीय दलको नेता चयन गरेको हो ।

बालेनलाई प्रधानमन्त्री बन्ने बाटो खुल्यो

बालेनलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेसँगै उनको प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । रास्वपा सभापति रवि लामिछानेको प्रस्तावमा रवि संसदीय दलको नेता चुनिएसँगै उनलाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया अगाडि बढेको हो ।

निश्चित राजनीतिक दलको बहुमत नपुगेको अवस्थामा राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गरेपछि राजनीतिक दलहरू आन्तरिक तयारीमा जुट्थे । तर, यस पटक प्रतिनिधिसभामा करिब दुई तिहाइ संख्यामा रास्वपाको उपस्थिति भएपछि राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्नुपर्ने अवस्था नरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

अब रास्वपाले संसदीय दलको नेता चयन भएको विषय लिखित रूपमा राष्ट्रपति कार्यालयमा जानकारी गराएपछि उक्त दलको नेता स्वतः प्रधानमन्त्री नियुक्त हुनेछन् । ‘उहाँहरूले अहिले, राति वा बिहान कहिले पत्र ल्याउनु हुन्छ, पत्र आएपछि त्यसअनुसार प्रधानमन्त्री नियुक्त हुने हो’, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भने ।

रास्वपाले राष्ट्रपति कार्यालयलाई पठाउने पत्रमा नेपालको संविधान २०७२ को धारा ७६ (१) बमोजिम आफ्नो संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गरियोस् भन्ने ब्यहोरा खुलाउनु पर्छ । त्यस्तो पत्र प्राप्त हुना साथ राष्ट्रपतिले उक्त दलका संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने भएका हुन् ।

यसअघि नै भोलि १३ गते शुक्रवार दिउँसो १२ बजेपछि नव नियुक्त प्रधानमन्त्री र मन्त्रीहरूको शपथका लागि शीतल निवासस्थित राष्ट्रपति भवनमा तयारी शुरु भइसकेको थियो । निम्तालुहरूलाई १२ बजे अगावै उपस्थितिका लागि राष्ट्रपति कार्यालयले खबर गरिसकेको जनाइएको छ ।

Translate »