वामपन्थी नेता स्वर्गीय ऋषिप्रसाद शर्माको १८औं स्मृति दिवस


सुर्खेत । नेपाली वामपन्थी आन्दोलनका प्रखर नेता स्वर्गीय ऋषिप्रसाद शर्माको १८औं स्मृति दिवस मनाइएको छ ।
स्वर्गीय शर्माले पार्टीमा पु¥याएको योगदानको स्मरण गर्दै एमाले सुर्खेतले आज पार्टी कार्यालयमा एक कार्यक्रम आयोजना गरी श्रद्दासुमन अर्पण गरेको हो । स्मृति दिवसमा सहभागी नेताहरुले निरंकुशताविरुद्ध लोकतन्त्र, सामाजिक न्याय र परिवर्तनको यात्रामा स्वर्गीय शर्माले पु¥याएको योगदान अविस्मरणीय रहने बताएका छन् ।
उनको महान् त्याग, संघर्ष र बलिदानले राष्ट्र र जनताको मुक्तिका लागि देखाएको मार्ग सधैं प्रेरणाको स्रोत बनिरहने उनीहरुको भनाइ थियो । ‘शहीद ऋषि एक सादगी, त्यागी, मितव्ययी, सरल, उच्च राजनैतिक क्षमता भएको दूरदर्शी नेता हुनुहुनथ्यो,’ एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले भने, ’शहीदको सपना साकार पार्ने काम अब बाँचेकाहरुले पुरा गर्नुपर्छ । बाँचेकाहरुले शहीदले देखाएको बाटोमा प्रतिबद्ध भएर लागे मात्रै शहीदको सपना पुरा हुनेछ ।’


उनले परिवर्तन चाहने, सत्य र निष्ठाको राजनीतिमा मान्यता राख्ने जो–कोहीका लागि शहीद ऋषिप्रसाद शर्मा एउटा आदर्श व्यक्ति भएको जिकिर गरे । २०१८ साल माघमा जन्मिएका ऋषिप्रसाद शर्माको २०६४ साल चैत्र २६ गते सुर्खेतको लोदे भन्ने ठाउँमा हत्या भएको थियो ।
अझैपनि सुर्खेती जनता ऋषि हत्याकाण्डको बारेमा जान्न चाहान्छन्, तर उक्त घटनाको १८ वर्ष बितिसक्दा समेत त्यसको सत्यतथ्य छानबिन हुन सकेको छैन । देखावटी रुपमा उठाइएका कारबाहीका मुद्धा र मागहरु बिर्सेपनि कारवाहीका लागि उठेका वास्तविक आवाजहरु भने अझै मत्थर भएका छैनन् ।
देशमा कयौं पटक कम्युनिस्ट पार्टीका सरकारहरु बनेपनी हत्याकाण्डको बारेमा कसैले चासो नदेखाएको शहीद ऋषिलाई चाहने हजारौं नागरिकको गुनासो छ । शर्माको १८ औं स्मृती दिवसमा एमालेका नेता तथा कार्यकर्ताहरुले उनलाई विभिन्न सामाजिक सञ्जालका माध्यमबाट श्रद्दासुमन प्रकट गरेका छन् ।


